मोरङ–४ : एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, कांग्रेसकै डर

 कात्तिक २८, २०७९ सोमबार १७:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – गएको वैशाखमा भएको पालिका चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २० हजार बढी मत ल्याएको मोरङ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छैनन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको ४ बाट कांग्रेसका ‘हेभीवेट’ नेताहरु सिफारिसमा परेका थिए । महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदार प्रतिनिधि सभा सदस्यतर्फ सिफारिस भए पनि अर्याल, पराजुली र घिमिरे प्रदेश सभा सदस्यमा राजी भए । अर्याल मोरङ ५ (ख), पराजुली ४ (ख) र घिमिरे ४ (क) बाट उम्मेदवार बन्नुभएको छ । सिफारिस भए पनि आचार्य र गच्छदारले भने प्रतिनिधि सभा तथा प्रदेश सभा र दुवैमा टिकट पाउनु भएन । 

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गएको पालिका चुनावमा तेस्रो स्थानको मत ल्याएपछि प्रतिनिधि सभाकाे टिकट कुनै हालतमा नछाड्ने अडान राख्याे । यसमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि केही लागेन र माओवादीका अमनलाल मोदीले प्रतिनिधि सभाको टिकट लिएरै छोड्नु भयो । र, अहिले मोरङ ४ का एमाले उम्मेदवार विनोद ढकाल र माओवादीका मोदीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । 

ढकाल र मोदीलाई कांग्रेसको भर

मोरङ ४ तुलनात्मक रुपमा कांग्रेसको बलियो संगठन भएको क्षेत्र हो । २०७४ सालको प्रतिनिधि सभा चुनावमा माओवादी विजयी भएको क्षेत्रमा प्रदेशका दुई क्षेत्रमध्ये एउटा माओवादी केन्द्र र अर्को एमालेले जित्यो । गएको वैशाखमा भएको पालिका चुनावमा पनि २३ वटा वडाहरुमध्ये कांग्रेस ३ वटा वडामा विजयी हुँदा एमालेले १८ वटा वडा जितेको थियो । माओवादी र जसपा भने १/१ वडामा विजयी बने । ५ वर्षको अन्तरालमा क्षेत्र नम्बर ४ मा कांग्रेसको संगठन कमजोर बन्दै गइरहेको छ । एमालेले भने संगठनलाई बलियो बनाउँदै लगेको देखिन्छ । तर, कांग्रेस र एमालेका वडाध्यक्षहरुले पाएको मतान्तरमा भने धेरै अन्तर छैन । दुई पार्टीबीच वडाध्यक्षहरुले ल्याएको मतान्तर केवल ५ हजारको मात्रै छ । कांग्रेसका उम्मेदवार थोरै मतान्तरले पराजित भएका छन् । यसमा उम्मेदवार चयनदेखि महाधिवेशन, पार्टी भित्रको गुटले काम गरेको देखिन्छ । 

एमालेको हाराहारी मत रहेको कांग्रेसको प्रतिनिधि सभामा उम्मेदवार नभएपछि एमाले र माओवादी उम्मेदवारले भने कांग्रेसको मतको भर गरेका छन् । गठबन्धन गरे पनि कांग्रेसको सबै मत आफूले नपाउनेमा माओवादी उम्मेदवार मोदी सहमत हुनुहुन्छ । उहाँ अहिले कांग्रेसका नेता कार्यकर्तालाई रिझाउने काम गर्दै आउनु भएको छ । कांग्रेसको मत सबै गठबन्धनमा नजाने निश्चित देखेको एमालेले पनि कांग्रेसका मतदाताको मत पाउन सके जित्न सकिने भएकाले कांग्रेसका मतदाता रिझाउने कोशिशमा छन् । दुवै उम्मेदवारलाई कांग्रेसकै मतको भर छ । दुवैलाई कांग्रेसको मत नपाइने डर र चिन्ता दुवै छ । 

ढकाल र मोदी दुवैलाई जित्नै पर्ने दबाब 

मंसिर ४ को निर्वाचन घोषणा अघिबाटै मोरङ ४ मा एमाले केन्द्रीय सदस्य ढकालले सम्भावित उम्मेदवारका रुपमा निर्वाचन क्षेत्रमा नेता कार्यकर्ता भेटघाटलाई बढाए । पार्टीको क्षेत्रीय समन्वय कमिटीबाट एकल सिफारिसमा परे । अन्तिममा टिकट पनि ढकालले नै पाए । यसबीचमा ढकाल क्षेत्र नम्बर ४ का करिब सबै वडामा प्रचारप्रसारका लागि पुगि सक्नु भएको थियो । 

सत्तारुढ गठबन्धनमा भने यो क्षेत्र कस्को भागमा पर्ने भन्नेमै टुङ्गो थिएन । अन्तिम समयमा सत्तागठबन्धनका तर्फबाट माओवादीले टिकट पायो । उसले पुरानै उम्मेदवारलाई निरन्तरता दियो । मनोनयनपछि मोदी र ढकालले निर्वाचन क्षेत्रमा चुनावी गतिविधि तीव्र पारेका छन् ।

समानुपातिकतर्फबाट २०७० सालको दोस्रो संविधान सभाबाट संसद प्रवेश गरेका मोदीले २०७४ सालको संसदीय चुनावमा यसै क्षेत्रबाट विजय हासिल गर्नुभएको हो । यस पटकको चुनाव जितेर उहाँ ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ । तर, उहाँलाई अहिलेको चुनाव भने अघिल्लो पटक जस्तो सहज छैन । दुई कार्यकाल सांसद भइसकेका मोदीले जनअपेक्षाअनुसार काम नगरेको आरोप छ स्थानीयको ।

अर्कोतर्फ तेस्रो स्थानमा रहेको माओवादी पनि कांग्रेसको सबै मत आफैँलाई खस्नेमा विश्वस्त छैन । मोरङमा जसपा–एमालेको तालमेलले पनि सत्तारुढ गठबन्धनलाई घाटा देखिएको छ । जसपाका वडाध्यक्षका उम्मेदवारले पालिका चुनावमा ३ हजार मत ल्याउनु भएको थियो । थारु बाहुल्य क्षेत्र रहेकाले चुनाव जित्ने एउटा भर थारु मत हुनसक्ने हुँदा मोदी आशावादी हुनुहुन्छ । तर, मोदीले अघिल्लो पटक पाएको जस्तो मत नआउने स्थानीयवासी बताउँछन् । 

यसअघि मोरङ ६ बाट उम्मेदवार बनेका एमालेका ढकालका लागि मोरङ ४ नयाँ क्षेत्र हो । संविधानसभा र विराटनगर महानगरपालिकामा पराजित भइसकेका ढकालका लागि प्रतिनिधि सभामा जित्नै पर्ने दबाब छ । यसकारण उहाँ अहिले यसअघिका निर्वाचनमाभन्दा बढी सक्रियरुपमा प्रचारप्रसारमा लाग्नु भएको छ । उहाँले निर्वाचन घोषणा अगावैदेखि घरदैलो तथा नेता, कार्यकर्ता भेटघाटलाई तीव्र बनाउनु भएको थियो । ढकालको उम्मेदवारीले पार्टी नेताकार्यकर्ता भित्र असन्तुष्टि नरहेकाले पनि यसपटक उहाँ जित हुनेमा आशावादी हुनुहुन्छ । 

प्रदेशमा एमाले र कांग्रेसको प्रतिस्पर्धा

प्रतिनिधि सभामा माओवादी र एमालेबीचको मुख्य प्रतिस्पर्धा रहेको क्षेत्र नम्बर ४ को प्रदेश सभामा भने कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र ४ (क) मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । सामाजिक अभियन्ताबाट क्षेत्रमा परिचय बनाएका चौधरी र कांग्रेसको प्रभावशाली नेताका रुपमा परिचित घिमिरे दुवैले निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । घिमिरेले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा लिनु भएको छ । कांग्रेसको कोइराला समूहका नेतासमेत रहेका घिमिरेलाई आफ्नैबाट समस्या रहेको कांग्रेसका स्थानीय कार्यकर्ता बताउँछन् । 

क्षेत्र ४ (ख) मा एमालेका जीवन घिमिरे र कांग्रेसका भीम पराजुलीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रमा अहिले सवैको चासो पनि छ । विराटनगर ३ का घिमिरे र पराजुलीको प्रतिस्पर्धा रोचक छ । घिमिरे पूर्व सामाजिक विकासमन्त्री हुनहुन्छ भने पराजुली विराटनगर महानगरपालिकाको निवर्तमान मेयर हुनुहुन्छ । दुवै केन्द्रीय नेताहरुले आफूलाई  भावी मुख्यमन्त्रीका रुपमा हेरेका छन् । दुवै उम्मेदवारले अहिले चुनावी अभियानलाई तीव्र बनाएका छन् । 

एमाले उम्मेदवार घिमिरेले प्रदेश सरकारमा रहँदा गरेका कामलाई चुनावी अभियानमा प्रस्तुत गर्नुभएको छ । उहाँको तुलनामा पराजुलीले ५ वर्ष विराटनगरको मेयर हुँदा गरेका कामलाई प्रस्तुत गर्न सक्नु भएको छैन । आफ्ना सामान्य कामलाई मात्र पराजुलीले प्रस्तुत गर्नु भएको छ । घिमिरेले तीन वर्ष प्रदेश सरकारको मन्त्री हुँदा गरेको कामलाई मुख्य आधार बनाउनु भएको छ । पराजुलीले ५ वर्षमा खासै उपलब्धिमूलक काम नगरेको भन्दै महानगरले भर्खर श्वेतपत्र सार्वजनिक गरेको थियो । कांग्रेस नेतृत्वकै मेयरले सार्वजनिक गरेको श्वेतपत्रका कारण पराजुलीलाई चुनाव प्रचारमा समस्या देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ । पराजुलीले पालिका चुनावमा बागी उम्मेदवार उठाएको आदि आरोप लाग्ने गरेको छ ।  

यस्तो छ अंक गणित

मोरङ ४ मा २३ वटा वडा पर्छन् । बेलबारी नगरपालिकाका ५, ६ र ७, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका साथै विराटनगर महानगरपालिकाका १, २, ३, ८, १० र १९ नम्बर वडा यो क्षेत्रमा समेटिएका छन ।

गएको पालिक चुनावमा एमालेले १८, कांग्रेसले ३, माओवादी र जनता समाजवादी पार्टीले १/१ वडामा वडाध्यक्ष पद जितेका छन । यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारले २५ हजार ५० मत पाएका छन । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २० हजार ५ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले भने ९ हजार ६ सय १६ मत पाएका छन ।

जनता समाजवादी पार्टीका वडाध्यक्ष उम्मेदवारले ३ हजार १ सय १२ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २ सय ४१ मत पाएका छन । पार्टीगत रुपमा एमाले ४ हजार ४ सय ९८ मतले अघि छ । एमाले र गठबन्धनका दलबीचको मतको अन्तर ९ हजार ४ सय ७१ रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया