पुरानै एजेण्डा लिएर चुनावी मैदानमा उम्मेदवार

 कात्तिक २८, २०७९ सोमबार १५:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनावमा तेह्रथुममा एक स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पाँच वर्षपछि पनि उम्मेदवारहरु पुरानै योजनाहरु लिएर गाउँ गाउँ पुगेका छन् । 

जिल्लाको अझै पनि धेरै गाउँहरुमा सडक सञ्जालहरु जोडिए पनि गाडी पुगेको छैन । खानेपानीको अभावका कारण तेह्रथुममा बर्सेनि सयौँ घरहरु बसाइ सर्ने क्रम अझै रोकिएको छैन । दुर्गम गाउँहरुमा स्वास्थ्य सेवा लिन घण्टौ हिँडेर स्वास्थ्य संस्था पुग्ने दिनहरु अझै हटेका छैनन् । हरेक ५ वर्षमा सरकार फेरिन्छ तर तेह्रथुमको ग्रामीण क्षेत्रका नागरिकहरुको अवस्था भने फेरिएको छैन । 

कुनै कुनै गाउँहरु यस्ता छन्, जहाँ चुनावमा भोट माग्न मात्रै नेताहरु पुग्ने गर्छन् । विगत लामो समयदेखि तेह्रथुमका उम्मेदवारहरुले ल्याएका योजनाहरु अघि सारेरै यो पटक उम्मेदवार चुनावमा होमिएका छन् । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र महिलालाई व्यावसायिक बनाउने लगायतका पुरानै योजनाहरु अघि सारेर चुनावी मैदानमा उम्मेदवारहरु आएका छन् । 

उम्मेदवारले ग्रामीण सडकलाई सदरमुकामसँग जोड्ने र जनजीविकाको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका छन । चुनाव आउँदा विकासका विभिन्न आश देखाए पनि जितेर गएपछि नागरिकहरुको समस्यालाई ध्यान नदिने गरेको म्याङलुङ नगरपालिकाका रणबहादुर लिम्बुले गुनासो गर्नुभयो । 

‘चुनाव आउँदा मात्रै गाउँ आउँछन् नेताहरु । गाउँको समस्या हामी समाधान गर्छाैँ पनि भन्छन् तर जितेपछि गाउँ फर्किँदैनन्’ उहाँले भन्नुभयाे ।

सडक सञ्जाल अभावमा स्थानीय कृषि उत्पादन र जडिबुटी बाहिर पठाउन नसक्दा स्थानीय किसान पीडित छन् । कांग्रेसका उम्मेदवार सीता गुरुङले आठराई क्षेत्र हुँदै सदरमुकाम म्याङलुङ र छथर क्षेत्रको शुक्रबारे हुँदै म्याङलुङ जोड्ने मुख्य सडक मार्गको स्तरोन्नति गरी गाडी आवागमन सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग यही जिल्ला भएर निर्माण भैरहेकाले सडक चाँडो बनेमा पूर्वी तराई हुँदै काठमाण्डौसँगको दुरीसमेत कम हुने आशमा स्थानीय मतदाता छन् ।

आर्थिक उपार्जनका आधार खोज्ने र युवालाई गाउँगाउँमा रोजगारी सृजना गराउने आश्वासन पनि उम्मेदवारले बाँडिरहेका छन । प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार डा.विजय सुब्बाले पनि जिल्लाको समृद्धिका लागि व्यवस्थित सडक सञ्जाललाई आफ्नो पहिलो मुद्दा बनाउनुभएको छ ।

वि.स. २०७४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले र कांग्रेसका उम्मेदवारले यिनै मुद्दालाई जोडतोडका साथ उठाएका थिए । दुवै दलका उम्मेदवारले पर्यटनको मुद्दालाई पनि प्राथमिकतामा राखेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया