मतदान गर्न सिकाउँदै इलामका स्वास्थ्य स्वयंसेविका

 कात्तिक २८, २०७९ सोमबार १६:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – मंङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लािग मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार निर्वाचन आयोगको निर्देशिकामा व्यवस्था भएअनुसार नै वडामै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाको जिम्मा दिइएको हो । इलामका विभिन्न ठाउँमा  मतदातालाई कसरी मतदान गर्ने बारेमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले नै जानकारी गराइरहेका छन् । मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा तालिम प्रदान गरिएसँगै वडाका घर–घरमा पुगेर उनीहरुले सिकाइरहेका हुन् । यसले भाेट हाल्न नजान्नेहरुलाई फाइदा पुगेकाे छ ।

माई नगरपालिकाकी फूलमाया तामाङ मतदाता शिक्षाले भोट हाल्न सक्छु जस्तो लागेको बताउनुहुन्छ । अघिल्लो चुनावमा आफू झक्किए पनि अहिले विश्वस्त छु जस्तो लागेको छ उहाँलाई । 

उहाँले भन्नुभयो, ‘कसले के भन्छ कसले के भन्छ, अस्तिको चुनावमा त म अन्योल नै भएँ । तर अहिले सिकेपछि अब झुक्किँदिन जस्तो लागेको छ ।’

मतदाता शिक्षाले धेरैलाई फाइदा भए पनि कतिलाई भने केही फरक नपरेको देखिन्छ । मतदाता शिक्षा पाए पनि आफै भोट हाल्न नसक्ने त्यही ठाउँका लक्ष्मीकान्त भट्टराई बताउनुहुन्छ । ७० वर्षीय उहाँ भन्नुहुन्छ, ‘आँखाले भर नगरेपछि आफैँ मतदान गर्न सक्दैन ।’

मतदाताहरूले हालेको मतदान बदर नहोस् भनेर निर्वाचन कार्यालयले गाउँ गाउँमा स्वंसेविका खटाएर मतदाता शिक्षा प्रदान गरिरहेको छ । महिला स्वास्थ्य स्वंयसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्यको काम गरिरहेकोले पनि मतदाता शिक्षा पनि घरघरमै पुगेर सिकाउन सक्ने भएकाले उहाँहरूलाई परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी देविचरण फुँयालले बताउनुभयो । 

स्वंसेविकाहरु पनि यसरी काम गर्नमा सजिलो भएको बताउँछन् । माई नगरपालिकाकी स्वास्थ्य स्वयंसेविका सविना लिम्बू गाउँलेलाई टोल टोलमा भेला बनाएर भन्दा घर–घरमा पुगेरै सिकाउन सजिलो हुने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘अलि बाक्लो बस्ती भएको ठाउँमा त दिनमा दुई सय जनालाईसम्म मतदान शिक्षा दिन सकिँदो रहेछ ।’ 

दश पालिका रहेको इलाममा ८१ वटा वडा छन् । सबै वडामा मतदाता शिक्षाका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । स्वयंसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका चुनावी प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिन्छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया