वैदेशिक रोजगारीबाट फर्किएका भन्छन् – ‘महिलालाई धेरै कष्ट छ’

 मंसिर २७, २०७९ मंगलबार १६:१८:५२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

झापा –  ‘रोजगारीको सिलसिलामा म करिब अढाई वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ/पाएँ’ यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको ।

राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारवालासँग सार्वजनिक सुनुवाइमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रूपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको बताउनुभयो ।

‘सीप नभए पनि घरेलु कामदारका रूपमा विदेश गएर महिलाले घरपरिवार चलाएका छन्’ उहाँले भन्नुभयो ‘घरेलु कामदारलाई वैधता दिएर सुरक्षित बनाउन सरकारसँग आग्रह गर्छु ।’

वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रस पुगेर गएको वैशाखमा फर्किनुभएकी भद्रपुर–६ की सपना रायले आफू म्यानपावर कम्पनीबाट ठगिए पनि न्याय नपाएको बताउनुभयो ।

‘श्रम मन्त्रालय जाँदा आश्वासन मात्र पाएँ, पटक–पटक आउनु भन्छन्, पटक–पटक जाने अवस्था छैन’ उहाँले भन्नुभयो ‘पैसा माग्दा म्यानपावरको मान्छेले गाली गर्छ ।’

किताबमा मात्र नियम–कानुन भएको तर व्यवहारमा नभएको भन्दै उहाँले पीडितले न्याय पाउन साह्रै कठिन भएको अनुभव सुनाउनुभयो । ‘नियमनकारी निकायमा जाँदा कर्मचारीले मलाई सोधेर गएको थिइस् भन्छन्’ उहाँले भन्नुभयो ‘कोही पनि रहरले विदेश जाँदैन, सबैको आ–आफ्नो बाध्यता र विवशता हुन्छ ।’

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ठुलो आँट र साहस बोकेर विदेश जानुपर्ने बाध्यता रहेको बताउनुभयो । राज्य सबै नागरिकको अभिभावक भएको र राज्यको अङ्गमा बस्नेहरूले सोहीअनुरूप व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश तहबाटै वैदेशिक रोजगारीका सबै काम हुन सके वैदेशिक रोजगारीको ठगीलगायतका विविध समस्या कम गर्न सक्ने उहाँको सुझाव छ । वैदेशिक रोजगारीमा जानेहरूले म्यानपावरलाई पैसा बुझाउँदा कम्तीमा दश पटक सोच्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘व्यक्ति नै आफ्नो पहिलो मुक्तिदाता हो ।’

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगारीसम्बन्धी प्रदेश नम्बर १ को अवस्थाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा प्रदेश नम्बर १ बाट वैदेशिक रोजगारीमा महिलाको अवस्था समस्याग्रस्त रहेको उल्लेख छ ।

कार्यपत्रमा ९९ प्रतिशत अदक्ष श्रमिक विदेशमा जाने गरेको उल्लेख छ । कुवेत, बहराइन, साइप्रस, ओमनमा बढी घरेलु महिला कामदार जाने गरेको पौडेलले बताउनुभयो । ‘सम्झौता विपरीतको काम गर्नुपर्ने, दलालबाट बेचिने, यौन हिंसाको सिकार हुनुपरेको छ’ उहाँले भन्नुभयो, ‘ठगीसम्बन्धी समस्या सम्बोधन गर्न सकिएको छैन ।’

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाहरूले पाउने राहत रकम पाउन धेरै समस्या रहेको उहाँले बताउनुभयो ।

खुला सीमा नाका भएकाले झापाबाट भारतीय बाटो हुँदै धेरै महिला वैदेशिक रोजगारीमा जाने र महिला बेचबिखन क्रम नरोकिएको कार्यपत्रमा उल्लेख छ । कार्यक्रममा झापा बारकी कार्यसमिति सदस्य अधिवक्ता तारा बाराकोटीले वैदेशिक रोजगारीबाट पीडितहरूले कसरी न्याय पाइन्छ भन्ने जानकारी नै नभएको सुनाउनुभयो ।

‘विदेशमै कामकै सिलसिलामै मृत्यु भएकाहरू परिवारले हदम्यादबारे जानकारी नहुँदा क्षतिपूर्ति पाउन नसकेका छैनन्’ उहाँले भन्नुभयो ‘शव ल्याउन धेरै कठिन छ, क्षतिपूर्तिबापत प्राप्त रकममा पनि कमिसन माग्ने गरेको पाइएको छ ।’

कार्यक्रममा माइती नेपालकी प्रतिनिधि पार्वता राजवंशीले पैसा कमाउन विदेश गएकी एक महिला गर्भवती भएर फर्किएको बताउनुभयो । ‘अहिले नानीको जन्म दर्ता बनाउन के गर्नुपर्छ भनेर सोध्नुहुन्छ’ उहाँले भन्नुभयो ‘सुरुदेखि नै मसँग नियमित सम्पर्कमा आई रहनुभएकाले सोधिरहनुहुन्छ, यस्तो समस्याको के व्यवस्था छ ?’ अशिक्षित मात्र नभई शिक्षित महिला पनि जान्दा–जान्दै बुझ्दा–बुझ्दै ठगिने गरेको उहाँले बताउनुभयो ।

ऐन, कानुन र नियम हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक रोजगारसम्बन्धी समस्या ज्यूँकात्यूँ रहेको कार्यक्रममा सहभागी अधिकांशको ठहर छ । भद्रपुर नगरपालिका टीकाराम पाण्डे, पत्रकार राजबाबु शङ्कर, ज्ञानेन्द्र निरौलालगायतका सहभागीले कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा झापाका १० वटा म्यानपावर व्यवसायीका शाखालाई सहभागिताका लागि पत्र पठाए पनि एक जनाको पनि सहभागिता थिएन भने यहाँका राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको पनि उपस्थिति थिएन ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले वैदेशिक रोजगारमा महिलाको सहभागितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले समस्या र सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिए पनि सरोकारवालाको उपस्थिति नहुनु दुःखद भएको बताउनुभयो ।

‘बूढाबूढीलाई भत्ता दिने र युवालाई विदेश पठाउने नीतिमा राजनीतिक दल तल्लीन छन्’ उहाँले भन्नुभयो ‘म्यानपावर व्यवसायी सहभागी नहुनुले उनीहरूको नियत प्रस्ट हुन्छ ।’ आयोग सदस्य पौडेलले जिल्लामा रहेको म्यानपावरको अनुगमन गरेर व्याप्त विकृत हटाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया