श्रमिकको समस्या सुन्न ओमानमा प्रहरीको हटलाइन र सुरक्षित आवासको व्यवस्था

 पुस १, २०७९ शुक्रबार १२:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमान – ओमान रोयल प्रहरीले श्रमिकको समस्या सुन्नका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ ।

ओमान प्रहरीले ८००७७४४४ नम्बर श्रमिकका समस्या सुन्नकै लागि छुट्टाएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कम्पनीले आफूसँगै पासपोर्ट राख्न नदिएमा, पाउने सेवा सुविधा र तलब सम्झौता पत्रमा उल्लेख गरिएभन्दा कम भएमा, बिना अतिरिक्त पारिश्रमिक बढी काम लगाएमा, साप्ताहिक रूपमा बिदा नदिएमा, भिसाको पैसा तिर्न लगाएमा र आफ्नो समस्या कसैलाई भनेमा कारबाही गर्ने धम्की दिएमा वा अन्य कुनै पनि प्रकारको समस्या भएमा ओमान रोयल प्रहरीलाई ८००७७४४४ नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सकिन्छ । 

कस्तो अवस्थामा प्रहरीलाई फोन गर्ने 

आफूले पाउने तलब सुविधा सम्झौता पत्रमा उल्लेख गरिए भन्दा कम भएमा ।

बिना अतिरिक्त पारिश्रमिक सम्झौता पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य बनाएमा ।

साप्ताहिक बिदा नदिने र साप्ताहिक बिदाको दिनमा काम गरे बापत थप तलब नदिएमा ।

रोजगारदाताले भिसा प्रदान गरेबापत उसलाई आफूले पैसा तिर्नु पर्ने बताएमा ।

रोजगारदाताले आवास, उपचार खर्च र खाना दिए बापत  पैसा तिर्नु पर्ने बताएमा ।

आफूलाई ओमान लगेबापत स्पोन्सर वा काम दिने एजेन्सीलाई पैसा तिर्नु पर्छ भनेमा ।

यदि कामको अवस्थाबारे प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा रोजगारदाताले ओमानबाट देशबाट निकाला गर्ने धम्की दिएमा ।

काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूले शारीरिक दुर्व्यवहार गरेमा ।

रोजगारदाताले कुटपिट गरेमा वा हिंसाको धम्की दिइरहेमा ।

यदि तपाईँले यस्ता समस्याहरू भोगिरहनुभएको छ भने तपाईँले ओमान रोयल प्रहरीलाई सिधै सम्पर्क गरी आफ्नो समस्या राख्न सक्नुहुन्छ । तपाईँले आफ्नो समस्या राख्न डराउन पर्दैन । किनकि तपाईँ परदेशी भूमिमा पीडित हो, अपराधी होइन र तपाईँले कुनै अपराध गरेर तपाईँले यस्ता सजाय भोग्नुभएको पनि होइन । 

 खबर गर्नासाथ तपाईँलाई रोयल ओमानी प्रहरीले मद्दत गर्नेछन् । प्रहरीहरू यस्तो समस्या भोग्ने श्रमिकलाई कसरी सहयोग गर्ने भन्नेबारेमा जानकार छन् र तपाईँलाई समस्यामा पार्ने रोजगारदाताबाट उनीहरूले बचाउने छन् । 

आफूले के गर्ने 

यदि हिँडडुल गर्न सकिन्छ भने नजिकैको रोयल ओमान प्रहरी कार्यालयमा गएर नै आफ्नो समस्या राख्ने । यदि तपाईँ आफैँ गएर वा फोनमार्फत पनि प्रहरीलाई खबर गर्न नसकेको अवस्थामा साथी मार्फत पनि प्रहरीलाई आफ्नो खबर पुर्‍याउन सकिन्छ । 

तपाईँले प्रहरीकोमा फोन गर्दा कुनै पनि शुल्क लाग्दैन । कर्मचारीहरूले अङ्ग्रेजी र अरेबीक भाषा दुवै बोल्नेछन् । यदि यी दुवै भाषामा बोल्न नजानेमा भाषा जान्ने आफ्नो साथीको पनि सहयोग लिन सकिन्छ । 

रोयल ओमानी प्रहरीले आएको समस्या उपर छानबिन गर्छ र तपाईँको सुरक्षा तथा हितको लागि विशेष सुरक्षा गृहमा राख्न समेत सक्छ । 

सहयोगी कर्मचारीहरूले सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको समेत ख्याल गर्छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया