सङ्क्रमण घटेपछि सरकारले कोरोनाविरुद्धको खोप ल्याएन : बुस्टर डोजका लागि ल्याइने

 पुस २, २०७९ शनिबार १३:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो ।

सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ ।

अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन । अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन ।

‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो, 'तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’     

सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो । नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ ।

नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया