'नेपाल श्रम आप्रवासन प्रतिवेदन-२०२२' सार्वजनिक, कतार प्रमुख श्रम गन्तव्य

 पुस ३, २०७९ आइतबार १५:५०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । नेपालमा श्रम आप्रवासन र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको विविध पाटाहरु समेटेर प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार काठमाण्डौको हायात होटलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रम मन्त्री  शेरबहादुर कुँवर र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

नेपाली आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्यांकको अभाव र आगामी बाटो गरि ६ अध्यायमा प्रतिवेदन समेटिएको छ ।

प्रतिवेदनले नेपालको श्रम आप्रवासनको अवस्थालाई चित्रित गरेको छ । नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य देश कतार रहेको प्रतिवेदनमा उल्लेख छ । समग्र वैदेशिक रोजगारीको ३५ प्रतिशत श्रमिक कतारमा गएका छन् । २०२१/२०२२ मा एक लाख २५ हजार ३६८ श्रमिक रोजगारीको लागि कतार गएका छन् । यस्तै कतारपछि क्रमशः मलेसिया, साउदी र यूएई नेपाली श्रमिकको रोजाइमा परेका छन् । 

यस्तै प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो हिस्सा अवर्गिकृत कामदारको रुपमा जाने गरेको देखाएको छ । अर्थात् ४० प्रतिशत श्रमिकले गन्तव्य देशमा गएर ठ्याक्कै कुन क्षेत्रमा के काम गर्ने भन्ने बुझेकै हुँदैनन् । यस्तै निर्माण क्षेत्रको लागि भनेर ६.१ प्रतिशत, गाडी चालक र मेसिन अपरेटरमा ८ प्रतिशत र औद्योगिक उत्पादनमा ८.९ प्रतिशत जाने गरेका छन् । महिलाहरु बढीजसो सरसफाइको क्षेत्रमा जाने गरेको प्रतिवेदनले देखाएको छ । ३९ प्रतिशत महिला सरसफाइमा जाने गरेका छन् । यस्तै सेवाजन्य पेसामा जाने महिलाको अनुपात २५ प्रतिशत रहेको छ ।

यस प्रतिवेदनले  आप्रवासी श्रमिकको हितमा नीति निर्माणका लागि पृष्ठपोषण गर्ने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । उहाँले प्रतिवेदनले आप्रवासी श्रमिकका समस्या लगायत उनीहरुको समग्र अवस्था औँल्याएकाले आगामी दिनमा नीतिगत रुपरेखा कोर्न यो सहयोगी हुने बताउनुभयो । 

उहाँले सीप नसिकेर वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकले दुःख पाउने गरेको भन्दै सीपमूलक तालिम सिकाउनेदेखि श्रमिकमा दक्षता बढाउने सबै कुराहरु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वका अरु देशहरु डिजिटलाइज्ड भइसक्दा हामी भर्खरै त्यसको चरणमा प्रवेश गरेको र यसले वैदेशिक रोजगारीको क्षेत्रमा निकै सहयोग पुर्याएको पनि बताउनुभयो ।

यस्तै श्रम मन्त्री कुँवरले श्रमिकबारे राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । श्रम गन्तव्य देशका समस्या केलाउने र श्रमिकका दुःखमा मलम लगाउन सरकार तयार रहेको उहाँको भनाइ थियो । उहाँले प्रतिवेदनले दर्शाएका समस्या र समाधानका पाटाहरुमा मन्त्रालयले काम गर्ने पनि उल्लेख गर्नुभयो । विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षादेखि उनीहरुको मर्यादित पुनर्स्थापनामा सरकार अघि बढ्ने पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया