श्रमिकको हित हुने काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई श्रम मन्त्रीकाे निर्देशन

 पुस ३, २०७९ आइतबार १८:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ ।

श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य देशमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो ।

अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र श्रमिकबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले  महत्वपूर्ण  भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताउनुभयो । 

उहाँले सम्बन्धित देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरु क्रियाकलाप अगाडि बढाउन पनि उहाँहरुलाई आग्रह गर्नुभएको छ । 

यस्तै, मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायित्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गर्नुभएको छ । त्यस्तै समन्वय र सञ्चार, श्रमिकको अवस्था, श्रमिककाे माग गर्ने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा काउन्सिलर र श्रम सहचारीलाई सम्झाउनुभयाे ।  

अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगार सम्बन्धी कानुन लगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ । 

मन्त्रालयले मेलेसियाको क्वालालम्पुरको लागि भोलानाथ गुरागाई, दक्षिण कोरियाको सियोलको लागि चन्द्रकला चौलागाई ओली र कतारको दोहाको लागि टिकामणि न्याैपानेलाई कान्सिलरमा नियुक्त गरेको छ । 

त्यसैगरी श्रम सहचारीमा ताम्रराज काफ्ले साउदी अरेबियाको जेद्दा, दिलप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्दप्रसाद आचार्य ओमानकाे मस्कट र आविद अंसारी संयुक्त अरब इमिरेट्स अबुधाबीको लागि नियुक्त हुनुभएको छ । 

उहाँहरुलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरिएको थियो । श्रम सहचारी र काउन्सिलरलाई मन्त्रालयले ३ दिने अभिमुखीकरण तालिम दिएको हाे । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया