श्रम मन्त्री कुँवरको ५ महिना २८ दिन : अनलाइनबाटै श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षासम्म

 पुस ११, २०७९ सोमबार १४:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँच महिना २८ दिन श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर बिदा हुनुभएको छ ।

सोमबार श्रम मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजनासहित मन्त्री कुँवरको बिदाइ गरिएको छ । कार्यक्रममा मन्त्री कुँवरले आफूले यो अवधिमा गरेको महत्त्वपूर्ण कामहरू पनि सार्वजनिक गर्नुभएको छ । २०७९ साल असार १३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुँवरले योबीचमा केही महत्त्वपूर्ण कामहरू गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक, स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषको दायरामा समेट्ने काम मन्त्री कुँवरकै नेतृत्वमा भयो ।

यस्तै वैदेशिक रोजगारीबाट फर्किएकाको पुनः एकीकरण कार्यक्रमका साथै आन्तरिक रोजगारी सिर्जना, श्रमिकका गुनासा सिधै आफैँ सुन्नका लागि श्रम मन्त्रीसँग श्रमिक कार्यक्रम सञ्चालनदेखि श्रम स्वीकृतिको सम्पूर्ण काम अनलाइन प्रणालीमार्फत प्रदान गर्ने, केन्द्र केन्द्रित श्रम स्वीकृतिको कामलाई प्रदेश स्तरसम्म पुर्‍याउनुका साथै निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाउने सम्मको काम आफ्नो कार्यकालमा फलदायी भएको मन्त्री कुँवरले दाबी गर्नुभएको छ । 

मन्त्री कुँवरको कार्यकालमा भएका कामहरू

वैदेशिक रोजगारी

मन्त्री कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक पठाउनका लागि भदौ ६ गते समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी कार्यान्वयन कार्य योजनाको मस्यौदा तयार पारी रायको लागि कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय रोमानीया नेपालीहरूको रोजाइको गन्तव्य बनिरहेको अवस्थामा भिसाका लागि भारत जानु पर्ने बाध्यताको अन्त्यका वैदेशिक रोजगार कार्यालय तहाचलमा अस्थायी रूपमा रोमानियन मिशन स्थापना गरी काम हुन थालेको छ ।  

श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको कामलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिएको छ । सबै काम अनलाइनबाट हुने भएपछि श्रमिकले संसारको जुनसुकै कुनाबाट पनि श्रम स्वीकृति लिन सक्छन् भने कार्यालयमा गएर लाइन लाग्नु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

श्रम तथा रोजगार कार्यालय, पोखरा र बुटवललाई वैदेशिक रोजगार सम्बन्धी पूर्व स्वीकृति दिने, कामदार छनौटको लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गरे नगरेको नियमित अनुगमन गर्ने,  श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने, इजाजतपत्रवालाका शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने, लगायतका वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी सम्पूर्ण प्रकारका कार्य गर्ने अनुमति मन्त्री कुँवरकै तदारुकतामा भएको छ । 

यसअघि यी काम वैदेशिक रोजगार कार्यालय, काठमाण्डाैबाट मात्र हुँदै आएको थियो । 

आन्तरिक रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गरिएको मन्त्री कुँवरले बताउनुभएको छ । 

जसका लागि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण सम्बन्धी निर्देशिका स्वीकृति भई वैदेशिक रोजगार बोर्डमार्फत कार्यान्वयनमा ल्याइएको छ ।

रोजगारी सम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्याङ्क व्यवस्थापनको लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस  गरिएको समेत उहाँले बताउनुभयो । 

यस्तै, श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको छ भने श्रमिक अस्पताल निर्माणका लागि डिपीआर तयार गर्ने कार्य भइरहेको छ ।

सामाजिक सुरक्षा 

अथक प्रयासपछि वैदेशिक रोजगारीमा रहेका श्रमिक, स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सफल भएको मन्त्री कुँवरले बताउनुभयो । यसअघि औपचारिक क्षेत्रका श्रमिक मात्रै समेटिँदै आए पनि आउँदो वैशाखदेखि यी तीन क्षेत्रका श्रमिकलाई पनि समेट्ने कार्यविधि स्वीकृति भइसकेको छ । 

मन्त्री कुँवरले समग्र प्रयासबाट देशको समग्र रोजगारीमा सुधार आउने, वैदेशिक रोजगारको व्यवस्थापनमा सुधार हुने, असल श्रम सम्बन्धको विकास हुने, युवाहरूमा व्यावसायिक सीप तथा तालिमको विकास हुनुसाथै सबै श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो ‘मन्त्रालय मातहतका निकायले प्रदान गर्ने सेवा प्रवाह सरलता, सहजता, पारदर्शिता सँगै सुशासन प्रवर्द्धन हुनेमा मैले विश्वास लिएको छु, यस कार्यमा मलाई सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया