कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

 पुस १२, २०७९ मंगलबार १४:४९:२२ | रासस
unn.prixa.net

कास्की – पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

४६ वर्षीय उहाँले गाउँमै कोइला उद्योग सञ्चालन गर्नुभएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।     

कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रूपमा उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो ।

‘कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु’, पुनले भन्नुभयो ।     

२०७५ मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । ‘जग्गा मेरै थियो त्यही दुई वटा भट्टी बनाएर काम सुरु गरेँ’ उहाँले बताउनुभयो ‘बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।’     

गएको वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उहाँ बताउनुहुन्छ । कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो’ पुनले जोड दिनुभयो, ‘तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो, गएको वैशाखदेखि भने राम्रै भएको छ ।’    

पछिल्लो समय उहाँले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय कोइला बेचेर मात्रै उहाँले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ  भने तीन जनालाई रोजगारीसमेत दिनुभएको छ ।

‘कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढी बचत हुन्छ’ पुनले भन्नुभयो ।     

उहाँको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताउनुभयो । ‘गाउँमा उद्योग चल्नु गौरवको कुरा हो, जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ’ उहाँले भन्नुभयो ‘यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।’

गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताउनुभयो । दुई वटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाण्डौलगायत अन्य सहरमा निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ’ पुनले भन्नुभयो ‘बजारको कुनै समस्या छैन, पछिल्लो समय त माग धान्नै गाह्रो छ ।’    

बजारको माग धान्नका लागि अझै तीन वटा भट्टी थप्ने उहाँको योजना छ । पाँच वटा भट्टीको कोइला बिक्रीबाट मासिक एक लाखभन्दा बढी रकम बचत गर्ने उहाँको उद्देश्य छ । कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरूलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको उहाँले बताउनुभयो ।     

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया