दुई वर्षमा वैदेशिक रोजगारीबाट फर्किए झण्डै सात लाख श्रमिक, फर्किनेमा मधेश प्रदेशका धेरै

 पुस १३, २०७९ बुधबार १३:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको दुई आर्थिक वर्षमा झण्डै ७ लाख नेपाली स्वदेश फर्किएको पाइएको छ ।

श्रम आप्रवासन प्रतिवेदन २०२२ ले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको तथ्याङ्क पनि समेट्दै बितेका दुई आर्थिक वर्षमा झण्डै ७ लाख नेपाली स्वदेश फर्किएको देखाएको हो । प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ र २०७८/७९ मा ६ लाख ७४ हजार ९१२ जना नेपाली स्वदेश फर्किएको देखाएको छ । 

सरकारले केही वर्ष अघिदेखि नै विदेशबाट फर्किएका नेपालीहरूको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । तर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा आएसँगै श्रम आप्रवासन प्रतिवेदनमा विदेशबाट फर्किएका नेपालीहरूको तथ्याङ्क पनि समेटिएको हो ।

प्रतिवेदन अनुसार प्रदेश एकका १ लाख ४८ हजार २४१ जना, मधेश प्रदेशका १ लाख ६५ हजार ९२५ जना, बाग्मती प्रदेशका ९९ हजार १६९ जना स्वदेश फर्किएका छन् । 

यस्तै गण्डकी प्रदेशका १ लाख ८ हजार ७ सय ७५ जना, लुम्बिनी प्रदेशका १ लाख १८ हजार ६ सय ६६ जना, कर्णाली प्रदेशका १७ हजार ३ सय ९८ जना र सुदूरपश्चिम प्रदेशका १६ हजार ७ सय ३९ जना स्वदेश फर्किएको प्रतिवेदनमा उल्लेख छ ।  

सातै प्रदेशका ४३ हजार महिला श्रमिक स्वदेश फर्किए

दुई वर्षमा वैदेशिक रोजगारीमा रहेका ४३ हजारभन्दा धेरै महिला श्रमिक स्वदेश फर्किएका छन् । श्रम आप्रवासन प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ र २०७८/७९ मा ४३ हजार ६६ महिला श्रमिक वैदेशिक रोजगारीबाट फर्किएको देखाएको हो । 

स्वदेश फर्किने महिला श्रमिकमा सबैभन्दा बढी बाग्मती प्रदेशका रहेका छन् । बाग्मती प्रदेशका १८ हजार ३०६ जना स्वदेश फर्किएको प्रतिवेदनले जनाएको छ । 

यस्तै बाग्मती प्रदेशपछि प्रदेश नम्बर १ का रहेका छन् । प्रदेश १ का १३ हजार २०४ जना महिला श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका हुन् ।

मधेश प्रदेशका १९ सय ७६ जना, गण्डकीका ४ हजार ४ सय ३७ जना, लुम्बिनीका ४ हजार ८१ जना, कर्णाली प्रदेशका ५७६ जना र सुदूरपश्चिम प्रदेशका ४९५ जना महिला श्रमिक स्वदेश फर्किएका छन् । 

पहिलो पटक वैदेशिक रोजगारीमा जाने मधेश प्रदेशबाट धेरै 

श्रम आप्रवासन प्रतिवेदन २०२२ ले पहिलो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा धेरै मधेश प्रदेशबाट रहेको देखाएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा मात्रै मधेश प्रदेशबाट खाडी लगायत विभिन्न देशमा १ लाख ६६ जना रोजगारीका लागि गएका छन् ।

सबैभन्दा धेरै साउदीमा ३७ हजार ८२२ जना, कतारमा ३६ हजार ३५८ जना, मलेसियामा ८ हजार ३५६ जना, कुवेतमा ५ हजार १३ जना र बहराइनमा १७ सय ८८ जना गएका छन् ।

यी बाहेक ओमान, रोमानिया, क्रोयसिया, माल्दिभ्स लगायतका देशमा जानका लागि पनि श्रम स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मधेश प्रदेशपछि प्रदेश नम्बर १ बाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा छ ।

गएको आर्थिक वर्षमा प्रदेश नम्बर १ बाट ७० हजार ६२३ जनाले, बाग्मती प्रदेशबाट ५४ हजार १७ जनाले, गण्डकीबाट ४२ हजार ५३६ जनाले, लुम्बिनी प्रदेशबाट ५८ हजार ६८३ जनाले, कर्णाली प्रदेशबाट १३ हजार ४२६ जनाले र सुदूरपश्चिम प्रदेशबाट ९ हजार ५१६ जनाले वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

श्रम गन्तव्य देशमा खाडीका देश नै रहेको प्रतिवेदनले देखाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया