राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नाम गलत हुँदा गुल्मीको रुरुक्षेत्र बासिन्दालाई समस्या

 पुस १९, २०७९ मंगलबार १२:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्ठौ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अङ्ग्रेजी नाम राहदानी विभागको अनलाइन सफ्टवेयरमा गलत हुँदा विदेश पुगिसकेका र जान खोज्ने पालिका बासीलाई समस्या भएको छ ।

गाउँपालिकाको नामको अङ्ग्रेजी स्पेलिङ फरक पर्दा विदेश पुगिसकेकाहरूलाई पनि समस्या भएको र कतिपय जानै नपाएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । 

पालिकाबाट जापान, अस्ट्रेलिया लगायतका देशमा पुगेकाहरूलाई सर्टिफिकेट र राहदानीमा स्थायी ठेगानाको स्पेलिङ नमिल्दा समस्या भएको भन्दै गुनासो आउने गरेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । 

‘विदेश पुगिसक्नु भएकाहरुलेसमेत के गर्ने होला भनेर यहाँ मलाई सम्पर्क गरिरहनुभएको छ, एक जना शर्मिला खड्का भन्ने बहिनी त विदेश जाने सबै तयारी गरेर पनि सर्टिफिकेट लगायत अन्य कागजातमा र राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ फरक परेकाले जान पाउनुभएको छैन’ गाउँपालिका अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

विदेश पुगिसकेकाहरूले त्यहाँ रहेको नेपाली दूतावासमा गएर सच्याउन खोज्दासमेत नमिलेको र नयाँ राहदानी नै बनाउन पनि विभागको सफ्टवेयरमा त्यही स्पेलिङ अझै पनि कायम भएको उहाँले बताउनुभयो । 

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ गाउँपालिकाले Rurukshetra Rural Municipality लेख्दै आएको छ । तर राहदानी विभागको प्रणालीमा Ruruchhetra Rural Municipality हुँदा समस्या भएको हो । 

राष्ट्रिय परिचयपत्र र राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ फरक परेपछि पालिकाले जिल्ला प्रशासन कार्यालयदेखि राहदानी विभागमा समेत स्पेलिङ सच्याइदिन अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।

आफू स्वयमले पनि राहदानी विभागका महानिर्देशकदेखि परराष्ट्र सचिवसम्मलाई समेत यो समस्या राखिसकेको तर यो समाचार तयार पार्दाको मितिसम्म पनि अङ्ग्रेजी नाम नसच्चिएको अध्यक्ष ज्ञवालीले गुनासो गर्नुभयो ।

राहदानी विभागले भने रुरु क्षेत्रसँगै अन्य पालिकाबाट समेत यस्तो गुनासो आएकाले गुनासो गर्ने सबै पालिकाको नाम सच्चाइसकेको दाबी गरेको छ । विभागका प्रवक्ता दुरापदा सापकोटाले सफ्टवेयर सेवा प्रदायकसँग अनुरोध गरिसकेको र अहिलेसम्म यो समस्या समाधान भइसकेको बताउनुभयो ।

‘हामीले ई–पासपोर्टका लागि सङ्घीय मामिला मन्त्रालयबाट सबै गाउँपालिका र नगरपालिकाहरूको विवरण लिएका हौँ, तर जिल्ला प्रशासन कार्यालयले एक हिसाबले दिने गरेको रहेछ’ विभागका प्रवक्ता सापकोटाले भन्नुभयो ‘मन्त्रालयको र त्यहाँको नाम लेख्ने तरिका नमिल्दा समस्या भएको हो ।’

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • लिला अधिकारी

    Jan. 5, 2023, 7:56 a.m.

    नेपाली र अङ्ग्रेजीको रोमन लेखाइमा एकरुपता नहुँदा जताततै धेरैलाई ठूलो समस्या पर्दै आएको यो एउटा प्रतिनिधिमूलक उदाहरण हो। सबै कार्यालयमा (विशेषत: नामथर र ठेगानासम्बन्धी काम गर्ने निकायहरूमा) गतिलो भाषा सम्पादक हुनैपर्छ। देशमा भाषाको प्रयोग/पद्धतिमा अराजकता व्याप्त छ। यसलाई एकरूपता र पद्धति नदिने हो भने मान्छेहरूले दु:ख पाइरहनु पर्छ। हामी स्कूलमा जन्मदर्ता खोज्छौँ तर नेपाली र अङ्ग्रेजी नाम, थर र ठेगाना अचाक्ली नै नमिलेको देखिन्छ।

  •  0 Reply
  • राम प्रमेष पटेल

    Jan. 3, 2023, 2:37 p.m.

    याे समस्या हाम्राे न पा मा पनि नागरितामा Fatuha आउँछ तर अन्य कागजातमा Fatuwa लेखने गरिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया