नेपाल र इजरायलबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै

 माघ ५, २०७९ बिहिबार १४:०:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ । 

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता बढ्दै गएको भ्रमण आदानप्रदानले आपसी सम्मान, सद्भाव, विश्वास, सहयोग र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुँदै गएको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले हिजाे काठमाण्डाैमा आयोजना गरेको नेपाल–इजरायल सम्बन्ध विषयक अन्तरक्रियामा उहाँहरूले द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई राष्ट्रबीच कृषि, स्वास्थ्य, शिक्षालगायत अन्य धेरै क्षेत्रमा सहयोग र सहकार्य सुदृढ हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरले भौगोलिकरूपमा नेपाल र इजरायल टाढा भए पनि दुई देशबीच अनुपम सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीच धेरै विषयमा समानताको सम्बन्ध भएको र पछिल्लो समय दुई देशबीच बढ्दो भ्रमण आदानप्रदानले जनस्तरमा सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्नुभयो ।

राजदूत गोल्डर्गरले द्विपक्षीय सम्बन्धपछि नेपालका तत्कालीन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इजरायलको उच्चस्तरीय भ्रमण गर्नुभएको स्मरण गर्दै इजरायलबाट समेत नेपालमा उच्चस्तरीय भ्रमण हुँदै आएको बताउनुभयो । उहाँले द्विपक्षीय सम्बन्धका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत दुई देशबीच समन्वय र सहयोग हुँदै आएको जानकारी गराउनुभयो । नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।  

नेपाल–इजरायल पूर्वराजदूत क्लबका अध्यक्ष डा शम्भुराज सिम्खडाले तत्कालीन राजनीतिक नेतृत्वको दूरदर्शीताले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको बताउँदै स्थापनापछि दुई देशबीचको सम्बन्ध निरन्तर रहेको मात्र नभई सुदृढसमेत हुँदै गएको उल्लेख गर्नुभयो । 

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक सम्बन्धलाई निरन्तरता दिएर इजरायलको अस्तित्वलाई मान्यता दिने नेपाल यस क्षेत्रको विगतदेखिको एक मात्र राष्ट्र भएकोमा नेपाली जनताले गर्व गर्दै आएको बताउनुभयो । उहाँले इजरायलले विभिन्न विकास क्षेत्रमा प्रदान गरेको आर्थिक सहयोग, नेपालीलाई तालिम सुविधा, विभिन्न विषयमा छोटो अवधिको छात्रवृत्ति, कृषि व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा इजरायली विज्ञहरू उपलब्ध गराएकामा प्रशंसा गर्नुभयो । 

कार्यक्रममा कूटनीतिक क्षेत्रका विज्ञहरूले सरकार र जनस्तर दुवैको सामूहिक प्रयासले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र नयाँ उचाइ लिने अपेक्षाका साथ नेपाल–इजरायलबीच सम्बन्धमा विविध आयामबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया