जनकपुरमा अपहरणपछि हत्या घटना : नेपालमा दुई तथा भारतीय प्रहरीद्वारा तीन जना पक्राउ

 माघ ८, २०७९ आइतबार २०:२८:२५ | सुजीत झा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभएको हो ।

उहाँले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भयो । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षका रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक क्षेत्रीले भन्नुभयो, ‘शंकास्पद व्यक्ति २ जनालाई नियन्त्रणमा लिएका छौँ । इण्डिया प्रहरीले पनि तीन जना नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुई वटा शव ल्याइएको खबर आएको थियो। शव आफ्नो बच्चाहरुको भएको भनिसक्नुभएको अवस्था छ । दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौँ । केसमा संलग्न भएको आशंकामा  किसानकुमार पण्डित र मुकेस पाशवान नियन्त्रणमा हुनुहुन्छ । केही व्यक्ति अझ फरार भएको भन्ने छ । खोजतलास जारी छ । शव गाढिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’

उहाँले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताउनु भयो । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरी नसकेको उहाँले बताउनु भयो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया