वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले दियो १६ करोड रुपैयाँ

 माघ ९, २०७९ सोमबार १२:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९ महिला सहित २८० जना श्रमिकको परिवारले यो खर्च पाएका हुन् । 

यस्तै अंगभंग वा बिरामी भएका ३१ जना श्रमिकले औषधोपचारबापत १३ करोड तीन लाख ३७ हजार रुपैयाँ पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि बोर्डले औषधोपचार खर्च प्रदान गर्छ । आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ७ वटा परिवारले यो सेवा पाएका छन् । यस विषयमा बोर्डले तीन लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका ३९ जना श्रमिकहरुलाई उद्धारको लागि सम्बन्धित देशको नियोगसँग समन्वय गर्ने विषयमा ८ लाख १९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

यस्तै विभिन्न देशमा ज्यान गुमाएका ६३ जना श्रमिकहरुको शव नेपाल ल्याउन ४५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । बोर्डले त्यसरी नेपाल ल्याएको मृतकको शवलाई घरसम्मै निःशुल्क ढुवानी गरिदिन्छ । यसको लागि यस आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५३ लाख ६६ हजार ६५८ रुपैयाँ खर्च भएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिने बेला वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । श्रमिकले जम्मा गरेको त्यही रकमबाट बोर्डले विभिन्न शीर्षकमा श्रमिक तथा उनीहरुका परिवारलाई आर्थिक सहायता गर्छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया