सांसदकै अगाडि जाजरकोटमा क्याम्पस प्रमुख कुटिए

 असोज २९, २०७५ सोमबार ६:३०:१९ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – नलगाड नगरपालिकामा रहेको नलगाड क्याम्पसका प्रमुख कालीबहादुर पुनमाथि हातपात भएको छ । त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नारायणबहादुर सिंहले क्याम्पस प्रमुख पुनमाथि हातपात गर्नुभएको हो ।

क्याम्पस प्रमुखमा पुन नियुक्त हुनुभन्दा अघि सिंहले क्याम्पसको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो  । पुन गएको मंसिरदेखि क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको थियो ।

सामुदायिक क्याम्पसको रुपमा ६ वर्ष अघि यो क्याम्पस स्थापना भएको थियो । क्याम्पस संचालक समितिको अनौपचारिक बैठक बसिरहेको अवस्थामा विवाद हुँदा सिंहले पुनलाई हातपात गर्नुभएको थियो । 

पूर्वप्रधानाध्यापक सिंहलाई क्याम्पसमा उपप्रध्यापक बनाउने र उनकै भाइका छोरालाई लेखापाल बनाउने विषयमा आफूले अस्वीकार गरेपछि विवाद भएको क्याम्पस प्रमुख पुनले बताउनु भयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर क्याम्पसमा शिक्षा शास्त्रमा स्नातक तहमा पठन पाठन भैरहेको छ । छलफलमा सहभागी एक सदस्यका अनुसार आफू अनुकुलको निर्णय नहुने भएपछि पुर्वप्रधानाध्यापक सिंहले क्याम्पस प्रमुखलाई विभिन्न लान्छाना तथा आरोप लगाउन थालेका थिए ।

क्याम्पस प्रमुख पुनले सोही कुरा मोबाइलमा रेकर्ड गर्न खोजेपछि सिंहले पुनलाई हातपात गरेका थिए । हातपातबाट क्याम्पस प्रमुख पुनको ज्याकेट च्यातिएको छ । आफूलाई हातपात गर्ने सिंहलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको पुनले बताउनुभयो । 

क्याम्पस संचालक समितिको अध्यक्ष प्रदेशसभा सदस्य समेत रहनुभएका गणेशप्रसाद सिंह हुनुहुन्छ । सांसद सिंहले आफू भएकै बेला भएको घटना सार्वजनिक नगर्न क्याम्पस प्रमुख पुनलाई दबाब दिनुभएको थियो ।  

प्रदेशसभा सदस्य सिंहले कार्तिक ९ गते क्याम्पस संचालक समितिको बैठक बसेर विवाद टुङ्ग्याउने भनेपछि आफूहरुले कुनै कारबाही अघि नबढाएको जिल्ला प्रहरी प्रमुख रविन्द्र सिंहले बताउनुभयो । सामान्य विवाद मात्र भएको भन्ने आफूले जानकारी पाएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया