श्रम सम्झाैता परिमार्जन नगरे मलेसिया कामदार नपठाउने वैदेशिक रोजगार व्यवसायीको चेतावनी

 कात्तिक १३, २०७५ मंगलबार १८:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारलाई निःशुल्क मलेसिया पठाउने नेपाल–मलेसिया सरकारबीचको समझदारीप्रति असन्तुष्टि जनाएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले दुई देशबीच नेपाली कामदारलाई पठाउने विषयमा सोमबार गरिएको समझदारीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आफूहरुलाई जानकारीसमेत नदिई सरकारले गरेको समझदारी आपत्तिजनक रहेको भन्दै आक्रोस पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष गुरुङले नेपाली कामदारलाई मलेसिया पठाएबापतको सेवा शुल्क दिने व्यवस्था तत्काल नगरे नेपाली कामदारलाई मलेसिया जानबाट रोक लगाउने चेतावनी पनि दिनुभयो ।

उहाँले नेपाली कामदारलाई मलेसिया पठाएबापतको सेवा शुल्क उपलब्ध गराउने कि नगराउने ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । अध्यक्ष गुरुङले सरकारले व्यवसायीहरुको समस्यालाई सम्बोधन नगरी गरिएको समझदारी मान्न आफूहरु बाध्य नहुने तर्कसमेत गर्नुभयो ।

सोमबार नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम एम कुलासेगरनबीच नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाली कामदार मलेसिया जाँदा हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचबापतका खर्च नेपाली कामदारले व्यहोर्न नपर्ने सहितको सो समझदारीप्रति व्यवसायीहरुको भने असन्तुष्टि छ ।

उनीहरुले आफूहरुको सेवाबापतको शुल्कको व्यवस्था नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया