महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने

 कात्तिक १३, २०८० सोमबार ६:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै हुनुहुन्छ ।

जलवायु परिवर्तनको असरबारे बुझ्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ काठमाण्डौ फर्केर ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि गुटेरेस पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । उहाँ भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानुहुनेछ ।

लुम्बिनीबाट काठमाण्डौ फर्केर भोलि दिउँसो ४ बजेपछि सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नुहुनेछ । पर्सि बुधवार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । 

राष्ट्रसङ्घ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बेलुकी रात्रिभोजको आयोजना गर्नुभएको थियो ।     त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका चुनावले नेपाललाई  शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका उहाँले जानकारी दिनुभयो । 

नेपाल आउनेबित्तिकै हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएका महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ ।

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको भन्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया