इजरायल–हमास युद्धविराम सम्झौता : आज रिहा हुने १३ जना बन्धक एकै परिवारका

 मंसिर ८, २०८० शुक्रबार १४:१६:५२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायल–हमास युद्धमा चार दिने युद्धविराम आज शुक्रवारदेखि लागू भएको छ ।

हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको सट्टामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि शुरु भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायीरूपमा रोकिएको छ । 

शुक्रवार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको यकिन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् ।

चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमतिअनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा यसपछि अनुमानित अझै एक सय ९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहने छन् ।  

सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात् कुल एक सय ५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ । 

गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ ।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण अहिलेसम्म झन्डै १५ हजार प्यालेस्टिनीकाे ज्यान गएकाे र धेरै सङ्ख्यामा विस्थापित भएका जनाएको छ ।

हताहतको यकिन सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि गर्न असम्भव छ तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूका लागि हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो ।

कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एकै परिवारका महिला र बालबालिका रहेका बताएका छन् ।

इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन् ।  

इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ ।

एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ४० मध्ये दुई सय १० जनाको सनाखत भएको पुष्टि गरेको छ ।

बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा त्याेभन्दा कम उमेरका थिए ।

इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा झन्डै एक हजार दुई सय जनाको ज्यान गएको जनाएको छ । 

कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिकरूपमा थोरै मात्र जानकारी छ ।

‘आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिका लागि मात्र तयार हुन सक्छौँ’, बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भन्नुभयो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को–को छन् भन्नेबारे भने खुलाइएको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया