उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनःनिर्माणका लागि सेना पठायो

 मंसिर ११, २०८० सोमबार १४:५०:१७ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तर कोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमवार बताएको छ ।

गएकाे हप्ता प्योङयाङले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिकरूपमा निलम्बन गरेको थियो । जवाफमा प्योङयाङले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिँदै त्याे सम्झौतालाई पूर्णरूपमा रद्द गरेको थियो ।

प्योङयाङले भर्खरै सुरक्षा चौकीहरू पुनःस्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । उत्तर कोरियाली सैनिकहरूले ‘शुक्रवारदेखि सुरक्षा चौकीको पुनःनिर्माण गरेको देखेको’ एक सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले बताएको छ । पाँच वर्ष पुरानो सैन्य सम्झौताअन्तर्गत हटाइएका सबै ११ चौकीहरू पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सेनाले जारी गरेको एउटा तस्बिरमा उत्तर कोरियाका चार सैनिकले दुवै देशलाई विभाजन गर्ने असैन्यकृत क्षेत्रमा एउटा काठको सुरक्षा चौकी पुनःनिर्माण गरिरहेका देखाइएको छ । 

उत्तर कोरियाको हतियार कार्यक्रमहरूको तीव्र विकासले सोललाई चिन्तित बनाएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको उपग्रह प्रक्षेपणपछि सीमामा ‘निगरानी र जासुसी स्रोत’ तैनाथ गरेको छ । आणविक हतियारयुक्त उत्तर कोरियाको बढ्दो खतराविरुद्ध सुरक्षित रहन ‘आवश्यक उपाय’ भएको उसको सेनाले बताएको छ ।

जवाफमा प्योङयाङले दुवै कोरियाबीच ‘सैन्य सीमाङ्कन रेखाको छेउमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य हार्डवेयर तैनाथ गर्ने’ बताएको छ ।

गएकाे हप्ता ‘मल्लिगयोङ–१’ को प्रक्षेपण मे र अगस्टमा दुई असफलतापछि आकाशमा सैन्य निगरानी सुरक्षित गर्ने प्योङयाङको तेस्रो प्रयास थियो । विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तर कोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया