‘सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकम बैंकमा राखेर ब्याज खाने हाेइन’

 मंसिर ११, २०८० सोमबार १८:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।

आज सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रले देशकाे अर्थतन्त्रमा देखिएकाे मन्दीलाई चलायमान बनाउन सामाजिक सुरक्षा काेषकाे रकम महत्त्वपूर्ण हुने बताए । निजी क्षेत्रका तीन छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानका लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्ब रुपैयाँभन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनामा लगानी गर्न आवश्यक रहेको बताए ।

तीन अध्यक्षले सामाजिक सुरक्षा कोष जस्ता रकम सङ्कलन हुने कोषहरूको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनीहरूले सरकारले सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्न पाउनेगरी कार्यविधि परिमार्जन गर्न समेत माग गरेका छन् । उनीहरूले सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकमलाई बैंकमा राखेर ब्याज खानेभन्दा पनि उत्पादनशील क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई गति दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले छोटो समयमा सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँ सङ्कलन भएको भन्दै यसलाई उत्पादनमा लगानी गर्नसके देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले पनि सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकमलाई उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोषमा जम्मा भएको रकम उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी लगाउन सके समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले कोषमा सङ्कलन भएको रकम बैंकमा ब्याज कमाउने भन्दा देशको अर्थतन्त्रको सूचक नकारात्मक भएको अवस्थामा देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवर्द्धन गर्ने उद्योगमा, जलविद्युत् परियोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकम उत्पादन र ठूला पूर्वाधार परियोजनमा लगानी गर्नसके देशलाई नै फाइदा हुने उल्लेख गर्नुभयो ।

ट्रेड युनियनहरूको छाता सङ्गठन नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले सरकारले कोषमा आबद्ध भएका नाै लाख जना याेगदानकर्तालाई निरन्तरता दिन सक्नुपर्ने चुनौती रहेको बताउनुभयो  । उहाँले चैत महिनादेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने अनिवार्य गरेको जस्तै स्वदेशमा काम गर्ने श्रमिकलाई अनिवार्य गर्न सरकारलाई केले रोक्यो भन्दै प्रश्न गर्नुभयो ।

पछिल्लो पाँच वर्षमा योगदानकर्ताबाट सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ । यसबाट योगदानकर्तालाई तोकिएको जोखिम सम्बोधन गर्दा छ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको कोषले बताएको छ । जसमा सबैभन्दा बढी औषधाेपचारमा मात्रै ७६ करोड १२ लाख, दुर्घटनामा आठ करोड ७५ लाख र अवकाश हुनेहरूमा पाँच अर्ब ४८ करोड रुपैयाँ खर्च भएको कोषले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया