इजरायल र हमासबीचको युद्धविराम आज अन्त्य हुँदै, युद्धविराम लम्ब्याउन दुवै पक्ष छलफलमा

 मंसिर ११, २०८० सोमबार १९:३८:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम आज साेमवार सकिँदैछ । कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो । हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ । अहिलेसम्म हमासले ३९ जना इजरायली र इजरायलले एक सय १७ जना प्यालेस्टिनीलाई रिहा गरेको छ ।

यसैबीच आज राति युद्धविरामको समय सकिनुअघि नै समय थप गर्न दुवै पक्ष छलफलमा छन् । दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केतहरू देखिएका खबरमा उल्लेख छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ । तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिनुभएको छ । यस्तै एक प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ । तर सहमति भने भइसकेको छैन ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा छ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया