चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

 मंसिर १८, २०८० सोमबार १४:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टी आर एस लोजिपार्क प्रालीबीच सम्झौता भएको छ ।

आज सोमवार समिति र प्रालीबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमअनुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई वार्षिक एक सय ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताए पनि कार्यालय खारेजी नहुने दाबी गर्नुभयाे । संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्नेगरी व्यवस्थापन गर्नेतर्फ आफूहरूले सोचिरहेको उहाँकाे भनाइ छ ।

निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको झन्डै २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताउनुभयो । उहाँले चाेभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनका लागि दिँदा प्रभावकारी सञ्चालन एवम् व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रूपमा वृद्धि हुने अवस्था देखिएको बताउनुभयो । बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु—दक्षिणकाली सडक खण्डको कीर्तिपुरमा रहेकाे ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने काम र निजगढ–काठमाण्डौ द्रुतमार्गको काम चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको बताउनुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौती रहे पनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको बताउनुभयो । आफूहरूले दिने सेवा स्तरीय बनाउन प्रयास गर्ने उहाँकाे भनाइ छ ।

इन्टरमोडल यातायात विकास समिति गएकाे साउन ९ गते टेन्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्याङ्कनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया