शिक्षण पेसाबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ

 पुस ३, २०८० मंगलबार ११:३८:४० | रासस
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ - धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्, फुर्सदिलाे समय बिताउँछन् । तर बाग्लुङका एक शिक्षक भने ३७ वर्ष लामाे शिक्षण पेसाबाट अवकाश लिएपछि सुन्तला खेतीमा रमाउनु भएकाे छ । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरकासाथ उहाँ सुन्तलाखेती गर्दै आउनु भएकाे छ । 

शिक्षक पेसाबाट अवकाश हुनुभएका बाग्लुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएकाे हाे ।  

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्टि मिलेकाे खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको छ । उहाँकाे बगैँचामा दुई सय वटा सुन्तलाको बोट रहेका छन् ।

'परम्परागत कृषि पेसा पुर्ख्याैली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बनेँ, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाख रुपैयाँमा एकमुष्ट बिक्री गरेँ, गएकाे वर्ष  सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँ कमाएको हो', खड्काल भन्नुभयो । 

सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका उहाँले बताउनु भयाे । आउँदाे वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । 

खड्काले भन्नुभयो, 'परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाइ गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर तीन करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।'

पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दाे आम्दानी गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: जेठ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया