सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा नेपाल र श्रीलङ्काबीच छलफल

 पुस ५, २०८० बिहिबार १५:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र श्रीलङ्काबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई बलियो बनाउने विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच आज बिहीवार काठमाण्डौमा भएको भेटवार्तामा सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको हो । नेपाल र श्रीलङ्कालाई क्षेत्रीय सहयोग सङ्गठनहरू निकै महत्त्वपूर्ण हुने भएकाले सार्क र बिमस्टेकलाई चलायमान बनाउन छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । यसका लागि सार्क र बिमस्टेकका सदस्य देशहरूसँग छलफल अघि बढाउने विषयमा पनि कुराकानी भएको उहाँको भनाइ छ ।

छलफलमा द्विपक्षीय सन्धिहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षालगायतका विषयमा पनि कुराकानी भएको मन्त्री साउदले बताउनुभयाे । भेटमा संयुक्त राष्ट्र सङ्घ र अन्य बहुपक्षीय फोरमहरूमा नेपाल र श्रीलङ्का एकजुट भएर अघि बढ्ने सम्भावनाका विषयमा पनि कुराकानी भएको छ ।

नेपाल र श्रीलङ्काबीच अहिलेसम्म सधैँ सौहार्दपूर्ण सम्बन्ध रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा पनि दुई जना मन्त्री सहमत हुनुभएको मन्त्रालयले जनाएको छ । गौतमबुद्धको जन्मस्थल नेपालमा अहिले पनि धेरै श्रीलङ्काली पर्यटक आइरहेको सन्दर्भमा पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारको बारेमा पनि परराष्ट्रमन्त्री साउद र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच छलफल भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया