दुर्घटनाको निगरानी गर्न काठमाण्डाै उपत्यकामा 'एएनपीआर' क्यामेरा

 पुस २६, २०८० बिहिबार २०:३१:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाण्डाै उपत्यकामा भित्रिएको छ । काठमाण्डाै महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बर प्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर 'रिड' गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । जसलाई ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन याे क्यामेराले सहयोग गर्छ । अनि नम्बर प्लेटलाई पनि 'रिड' गरेर पठाउँछ ।

आधुनिक प्रविधियुक्त एएनपीआर क्यामेराले गाडीको नम्बर प्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर 'सर्भर' मा पठाउने हुँदा 'ट्राफिकिङ' मा यसले ठूलो सहयोग गर्ने विश्वास गरेको काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले बताउनुभयो ।

‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो तर नम्बर प्लेट पहिचान भएन भने याे क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बर प्लेट 'रिड' गरेर राख्छ र सर्भरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ’, उहाँले भन्नुभयो ।

‘मनिसले सत्य नबक्न पनि सक्छ तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यस कारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ’, एसएसपी मैनालीले थप्नुभयो, ‘अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा याे क्यामेरा जडान गरेका छौँ । आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोस्ड नम्बरलाई पनि क्याप्चर गर्छ ।’ उहाँका अनुसार चार वटा मुनिभैरवमा, चार वटा महाराजगञ्ज क्षेत्रमा र दुई वटा बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।

यसअघि प्रहरीलाई 'हिट एन्ड रन' का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बर प्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर गाडीधनी पत्ता लगाउन सकिन्छ ।

एएनपीआरलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरू पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभरिमा काठमाण्डाैका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिनुभयो । रातिको समयका लागि समेत यसले काम गर्छ ।

काठमाण्डाै उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० ठाउँमा जडान गर्न लागिएको छ । याे प्रविधि जडानमा सिनर्जी आईटी सोलुसन काठमाण्डाैकाे प्राविधिक सहयोग रहेको छ । सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरकरूपमा काम गर्ने बताउनुभयो ।

उहाँले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताउनुभयो । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा याे क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा 'रिड' गरेर पठाउँछ । भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया