मेलम्चीकाे पानी माघ १ गतेदेखि काठमाण्डौमा वितरण हुने

 पुस २७, २०८० शुक्रबार १५:१६:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिन अर्थात् माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाण्डौ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाण्डौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।’ झन्डै २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम शुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पठाइएको सिनियर डिभिजनल इन्जिनियर कुँवरले बताउनुभयो ।

उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र मेशिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाण्डौ ल्याउने घोषणासमेत गर्नुभएको थियो । मेलम्चीको पानी तत्काल काठमाण्डौ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगत अनुगमनसमेत गर्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया