डाक्टरले 'अपरेशन' गर्नुपर्छ भनिरहे, धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

 पुस २७, २०८० शुक्रबार १९:२४:१६ | रासस
unn.prixa.net

डोटी – दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई व्यथा लागेपछि बिहीवार बेलुकी साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याएर । गर्भवतीको व्यथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली 'अपरेशन' को तयारीमा जुट्यो । यता आमाले अस्पतालबाटै बुहारीको 'अपरेशन' गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।

तत्काल 'अपरेशन' नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झाउने प्रयास गरे तर कोही तयार भएनन् । ‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ’, ‘डाक्टर निराजन श्रेष्ठले भन्नुभयो, तर उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई/चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ, नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो ।

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि 'अपरेशन' का लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍याे । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा. श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गर्नुभयो । डा. श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै 'अपरेशन' का लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा 'अपरेशन' का लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली 'अपरेशन' को तयारीमा जुट्यो । 'अपरेशन' अघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि 'भ्याक्युम डेलिभरी' मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै 'अपरेशन' भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।

डा. श्रेष्ठ अस्पतालमा आउने धेरैजसाेले भूतप्रेत र देउता लागेकाे भन्दै उपचार गर्न नमान्ने गरेकाे बताउनुहुन्छ । ‘हरेक हप्ता एक/दुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया