झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

 पुस २८, २०८० शनिबार १८:४८:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको नजिक जानु हुँदैन ।

झापाको बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयले जनाएको छ ।

छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने गर्छ। बस्तीतिर छावासँगै हात्तीको हुल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ । मोरङको बेलबारी र पथरी नजिक बेतना सिमसार रहेको वन क्षेत्रमा पनि हात्तीले छावा जन्माएको छ । स्थानीयवासीले हात्तीको नवजात छावा देखेर वन कार्यालयमा जानकारी दिएका छन् ।

वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जङ्गलमा छावा जन्मिएको र मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको बताउनुभयो ।

झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूखबिरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जङ्गल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउनुहुन्छ । प्रजननका लागि रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्दछ । अहिले छावा जन्मिएको झापाको सुकेडाँगी वन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त रहेको छ । जलथल जङ्गल पनि हात्तीको प्रजननका लागि उपयुक्त मानिन्छ ।

वन डिभिजन कार्यालय प्रमुख राईका अनुसार गएको कात्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ वटा हात्तीमध्ये २७ वटा यसै हप्ता भारत फर्किएका छन् । झापाको जङ्गलमा ३० वटा हात्ती रहेका छन् । भारतको आसामबाट नेपालको कोशी टप्पुसम्म जङ्गली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जङ्गल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको लगभग एक सयको बथान बेलाबेला नेपाल आउने गरेको छ ।

पहिले बढीमा १५ दिन डुलेपछि फर्किने गरेका हात्ती यसपाली अढाइ महिनादेखि नेपालभित्रै रमाइरहेका छन् । झापा, मोरङ र सुनसरीमा यिनै हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया