स्वास्थ्य बीमामार्फत उपचार गराउनेले आजदेखि १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

 माघ १, २०८० सोमबार १५:५:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । यसअघि बोर्डमा आबद्ध भएका बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँच जना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाख रुपैयाँसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ ।

बोर्डका कार्यकारी निर्देशक बसौलाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्नुपर्दैन । सहभुक्तनी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ ।

अहिलेसम्म ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।

यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआईभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया