बाग्मती नदीमा बाह्रै महिना पानी बगाउन शिवपुरीमा ९४ मिटर अग्लो नागमती बाँध बन्ने

 माघ २, २०८० मंगलबार १५:१२:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको सभ्यतासँग जोडिएको बाग्मती नदीमा बाह्रै महिना पानी बगाउन सरकारले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अर्काे बाँध बनाउने भएको छ । गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्न भइसकेको छ । अब २५ अर्ब रुपैयाँको लागतमा ९४ दशमलव ५ मिटर अग्लो नागमती बाँँध निर्माणको प्रक्रिया शुरु भएको हो ।

वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बाग्मतीमा पानीको बहाव बढाउन बाँध बनाउन लागिएको हो । निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी १ दशमलव ८ किलोमिटर हुनेछ । बाग्मती नदीको प्रमुख शाखा नागमती नदीको मूलखर्कमा बाँध बन्नेछ ।

यो आयोजना एसियाली विकास बैंकको सहुलियत ऋणमा बन्नेछ । नागमती नदी सुन्दरीजलमा पुगेपछि बाग्मती नदीमा मिसिन्छ । आयोजनाअन्तर्गत पर्या–पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय बाँध र १ दशलमव ८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बाग्मती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इन्जिनियर निश्चल छत्कुलीले जानकारी दिनुभयो ।

बाँधको लम्बाइ ५ सय ५३ मिटर र चौडाइ २ सय ६० मिटरभन्दा बढी हुनेछ । अमिबाको आकारको यो बाँधस्थल समुद्री सतहदेखि १ हजार ९ सय १० मिटर उचाइमा रहेको छ । निकुञ्जको झन्डै ४८ हेक्टर क्षेत्रफलमा जलाशय रहने यो बाँध निर्माणका क्रममा ७ हजार रुख र ८५ हजार बुट्यान कटान गरिनेछ । बाँध निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

सन् २०२५ जुलाईदेखि आयोजनाको मुख्य भौतिक काम बाँध निर्माण शुरु हुनेछ भने त्यसको १ वर्ष देखिअघि नै रुख कटान र पहुँच सडक निर्माणको काम शुरु हुनेछ । आयोजनाको निर्माण अवधि ८ वर्ष तोकिएको छ ।

बाँध आयोजना निर्माणका लागि अहिलेसम्म के के काम भए ?

आयोजनाको पूर्वतयारीका लागि अहिलेसम्म जापानी अन्तर्राष्ट्रिय सहयोग निकायबाट विभिन्न समयमा उपत्यकामा रहेका जलाधार क्षेत्रमा अध्ययन, बाग्मती कार्ययोजना सन् २००९–२०१४ बाग्मती नदीमा हिउँदयाममा पानीको बहाव बढाउने र डेनिस हाइड्रो इन्स्टिच्युटमार्फत धाँप र नागमती बाँधको पूर्व सम्भाव्यता अध्ययन भएको थियो । त्यस्तै मुख्य तयारीअन्तर्गत एसियाली विकास बैंककाे ऋण सहयोगमा बाग्मती सुधार आयोजनामार्फत २०१७ मा विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो ।

अन्तिम तयारीअन्तर्गत खानेपानी मन्त्रालयबाट टनेल मर्मत र वर्षायाममा पानी उपलब्ध गराउन अनुरोध, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी र खानेपानी मन्त्रालयबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

याे बाँध भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी 'कङ्क्रिड फेस्ड रक फिल्ड ड्याम' (सीएफआरडी) प्रविधिबाट निर्माण हुनेछ । बाँध निर्माणको प्रविधि नयाँ भएको, निकुञ्ज क्षेत्रमा रहेकाेले रुख कटान र क्षतिपूर्ति प्रक्रिया, कुल बजेटअन्तर्गत नेपाल सरकारले बेहोर्नुपर्ने हिस्सा, कानुनी र संरचनालगायत विषय यस आयोजनामा चुनौती रहेको इञ्जिनियर छत्कुलीले बताउनुभयो ।

बढ्दो सहरीकरण र भूउपयोगमा भएको परिवर्तनका कारण बाग्मती जलाधार क्षेत्र सुक्खा बन्दै गएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक उद्धव नेपालले प्रतिव्यक्ति पानीको उपलब्धता, पानीको गुणस्तरमा ह्रास भएको, मनसुनी जलवायुका कारण हिउँदमा भूसतहमा रहेको जलस्रोतको उपलब्धतामा कमी भएकाले यस बाँधको आवश्यकता परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूमिगत जलस्रोतको पुनः भरणमा कमी, भूमिगत जलस्रोतको दोहनमा अत्यधिक चाप पर्न गएको, जलपथान्तरण गरी बाग्मती नदीमा पानीको बहाव बढाउने सम्भावना नभएको र हिउँदमा पानीको बहाव बढाउन वर्षायाममा खेर जाने पानी सङ्कलन गर्नु नै प्रमुख विकल्प रहेकाले यसको आवश्यकता परेको हो ।’

यो बाँध निर्माणपछि बाग्मतीमा सुक्खायाममा पनि नियमित २ फिट उचाइसम्म पानी बग्ने भएकाले वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ । यसैगरी बाँध निर्माणबाट उत्पादन हुने जलविद्युत्, आयोजनाअन्तर्गत बनाइने 'ट्रेल रुट' बन्ने भएकाले निकुञ्ज क्षेत्रमा रहेको झन्डै ६ सय स्थानीय घरधुरीको आवातजावत र आर्थिक उपार्जनमा समेत योगदान पुग्ने उहाँले बताउनुभयो । नेपालमा वर्षमा ४ महिनामात्र मनसुनी वर्षा हुन्छ । यस अवधिमा पर्ने २ सय २५ बिलियन घनमिटर पानी बगेर भारत जान्छ । त्यसमध्ये अहिले १५ प्रतिशतमात्र प्रयोग हुने गरेको छ । तसर्थ नेपालमा बन्ने सबै बाँधको मुख्य उद्देश्य वर्षाकै पानी जम्मा गरेर प्रयोग गर्ने हो ।

धाप बाँध निर्माणपछि बागमतीको वातावरणीय सौन्दर्य प्रवर्द्धन

नागार्जुन नगरपालिका–१ मा रहेकाे शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप बाँध निर्माण झन्डै एक वर्षअघि सम्पन्न भई चालु भइसकेको छ । यो बाँध बाग्मती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको हो । धाप बाँध निर्माणपछि काठमाण्डाै उपत्यकाबाट नजिकको यस ठाउँमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ ।

बाँधको निर्माणपछि बाग्मती नदीको जल व्यवस्थापनका साथै वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खायाममा प्रवाह गर्ने गरिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिनुभयो । ‘यस बाँधबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमा समेत योगदान पुगेको छ । यसको निर्माणपछि बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन सहयोग पुगेको छ । हाल विभिन्न नौ चाडपर्वमा १४ दिन बागमती नदीमा उक्त बाँधबाट आवश्यकताअनुसार थप पानी छोड्न सुरु गरिएको छ’, उहाँले भन्नुभयो ।

त्यसैगरी बाँध निर्माणपछि अहिलेसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला विभिन्न समयमा गरी ३० करोड लिटर पानी सुन्दरीजलमा रहेकाे खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाइसकेकाे आयोजना प्रमुख कण्ठले बताउनुभयो । सन् २०१५ अक्टोबर ९ मा सम्झौता भई सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो बाँध झन्डै ५२ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नागमती नदीको मुहानमा निर्माण गरिएको यस बाँधमा घ ठाउँमा सहायक (स्याडल ड्याम) र एक मुख्य ड्याम निर्माण गरिएको छ ।

२४ मिटर अग्लो बाँध निर्माण गरी वर्षाको पानी सङ्कलन गरेर सुक्खा समयमा चाडपर्व र आवश्यकताअनुसार बाग्मती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको भण्डारण क्षमता १४ लाख २६ हजार घन मिटर पानी रहेको छ । यो बाँधको जलाशय १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बाँध निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुगेको छ । बाँध निर्माणअघि यस क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक एक करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन हुने गरेकामा बाँध निर्माणपछि झन्डै ५ करोड राजस्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

बाँधको महत्त्व र विश्वमा बाँधको अवस्था

'इन्टरनेशनल कमिसन अन लार्ज ड्याम' (आइकोल्ड) संस्थाले विश्वभर १५ मिटरभन्दा अग्ला आकारका ठूला बाँधको दर्ता गर्ने गरेको छ । यस मापदण्डअन्तर्गत नेपालमा अहिलेसम्म कुलेखानी, फेवा, धाँप, अन्य जलविद्युतका बाँध गरी ६ वटा बाँध रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा भने ५८ हजार सात सय १३ वटा बाँध छन् जसमध्ये चीनमा २३ हजार ८ सय ४१, अमेरिकामा ९ हजार ३ सय ६३, भारतमा ४ हजार ४ सय ७ (थप ८ सय वटा निर्माणाधीन) र अन्य विभिन्न देशमा रहेका छन् ।

विश्वका ठूला एउटै नदीमा रहेका सबैभन्दा धेरै बाँधमध्ये चीनको यात्से नदीमा १ हजार, अमेरिकाको मिसिसीपी नदीमा १ हजार, भारतको गोदावरी नदीमा ३ सय ५० वटा बाँध रहेका छन् । बाँधलाई विश्वकै 'गेम चेन्जर प्रोजेक्ट' मानिन्छ । चीनको थ्री गज्रेज, अमेरिकाको होभर र भारतको बक्रा बाँध यसका उदाहरण हुन् । विश्वमा ३० प्रतिशत खाद्यान्न उत्पादन बाँधको सिँचाइमा निर्भर छ । बाँधको उपयोग बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, माछापालन, खानेपानी र अन्य काममा प्रयोग गरिन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया