समाचार हुबहु सार्ने एक सय ८३ वटा अनलाइन कारबाहीमा

 फागुन १७, २०८० बिहिबार १०:२८:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने एक सय ८३ वटा अनलाइनलाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो डेढ वर्षमा एक सय ८३ वटा अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको हाे । काउन्सिलले विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने (कपी एण्ड पेस्ट गर्ने), अनुमति नलिने एक सय ८३ वटा अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये एक सय ४३ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ भने ११ वटालाई सचेत गराएको छ । स्पष्टीकरण सोधिएका धेरैजसो मिडियाबाट आउने दिनमा यस्तो कार्य नगर्ने प्रतिबद्धतासहितको जवाफ पेस भएको थियो । त्यस्तै मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वटा वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएकाे छ ।

कारबाहीका लागि प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आउँदो दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्न/नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो गरेकाे उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहनुभएका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एशोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध दुई सय २० वटा उजुरी तथा १२ वटा जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ वटा उजुरी, २ वटा जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आव समेतको गरी एक सय ६० वटा उजुरी फर्छ्याैट भएका छन् । काउन्सिलले मूल स्रोतको अनुमतिबिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया