जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृति दिन सुरु,  सेवाग्राही खुशी

 पुस १५, २०७५ आइतबार १३:३५:३३ | शैलेन्द्र महतो

काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिन थालेको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो । 

जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट आज विहान १० बजेदेखि श्रम स्वीकृति दिने काम शुरु भएको हो । प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले बताउनुभयो ।

प्रदेश कार्यालयहरुले सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेछन् । 
प्रदेशबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि सेवाग्राही खुशी भएका छन् ।

पहिलो सेवाग्राहीको रुपमा पुनः श्रम स्वीकृति लिन कार्यालय पुग्नुभएका धनुषा बउहर्वाका एमडी जिलानीले आफू निकै खुशी भएको बताउनुभयो । ‘यसकै लागि काठमाडौं जानुपर्दा निकै कठिनाई र खर्च हुँन्थ्यो’, उहाँले खुशी हुँदै भन्नुभयो ‘अब त सजिलो भयो।’ 

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।
 

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया