बच्चाका लागि परदेशीका अभिभावकले खेल्नुपर्ने भूमिका

 असार २५, २०७५ | रामकुमार थापा

रामकुमार थापा । 

हरेक आमाबुवाले आफ्नो सन्तान देशको ठूलो मानिस बनेको हेर्न चाहन्छन् । आफ्ना छोराछोरीको बारेमा अरुले राम्रो भनेको सुन्न चाहन्छन् । अभिभावकको बुझाइ ठूलो मान्छे भनेको पाइलट, डाक्टर, नर्स, वकिल बन्नु पर्छ भन्ने हो ।

छोराछोरीलाई आफूले चाहेको जस्तो बनाउन बालबालिकालाई सानैदेखि आफ्नो अधिनमा राख्न खोज्छौं । आमा वा बाबु विदेश गएका परिवारका बच्चालाई त झन बढी दवाबमा राख्ने गरिन्छ ।

परिवारको सदस्यले बच्चालाई अधिनमा नराखे पछि गएर बिग्रिन्छ र भनेको मान्दैन भनेर जसले पनि हप्काउने, पिट्ने र शारीरिक तथा मानसिक यातना दिइरहेका हुन्छौं । अभिभावकहरु आफ्नो बच्चालाई सजाय नदिए त छोराछोरी बिग्रिहाल्छन कि भन्ने सोच राख्छौं । 

हाम्रो समाजमा एउटा भनाई नै छ, बाबुआमाले तह नलगाएको बच्चालाई समाजका अन्य व्यक्तिले तह लगाउँछन् । अर्थात आफ्नो आमाबाबुले नपिटेको बच्चालाई छिमेकका मानिसले तह लगाउँछन् ।

त्यसैले आफ्नो बच्चाहरुलाई आफैले पिटेको राम्रो । अरुले पिट्दा आफूलाई सहन गाह्रो भएकोले आफैंले पिट्नुपर्छ भन्ने सोच अहिले पनि छ । बच्चाले आफ्नो आमाबाबुले भनेको कुरा मान्दियोस भनेको जति खाइदियोस, विद्यालयबाट घर फर्किएपछि किताब लिएर पढिरहोस, झगडा नगरोस, मिठो बोल्दियोस अर्थात अझै भनौ बच्चाले आमाबाबुले उठ भने उठ र बस भने बस भने मात्रै असल र ज्ञानी भएको सोच्छौं ।

यी कुरा नमानेको खण्डमा बालबालिकालाई पिट्ने, गाली गर्ने, थर्काउने र डर देखाउने गर्छौं । के यसो गर्दा तपाईंका बच्चाले मानेका छन त, एक पटक सोच्नुहोस् त ।  बच्चालाई ज्ञानी र असल बनाउने नाममा गरिएको तपाईं हाम्रो गतिविधिले बालमष्तिष्कमा कस्तो असर परिरहेको छ तपाईं हामीले कहिले सोचेका छौं ? 
हुन त आफ्ना बालबालिकालाई पिट्ने वा सजाय दिने कुनै पनि आमा बुवाको मन हुँदैन ।

मन नहुँदा नहुँदै पनि पिट्ने वा सजाय दिन उक्साउने हाम्रो भित्री सोचलाई कसरी बदल्ने ? बाल्यकालमा भोगेका वा देखेका कुराहरुले मानिसको जीवनलाई प्रभावित पारिरहेको छ । बच्चा कस्तो संस्कार र परिवारमा हुर्केको हो, जस्तो संस्कार र परिवारमा हुर्केको हो उसले गर्ने व्यावहारनै उस्तै हुन्छ । बाल्यकालमा माया पाएको बालबालिकाले माया नै बाँड्न जान्दछन भने दुव्यर्वहार अर्थात  झगडा भइरहने परिवारमा हुर्केको बच्चा पछि गएर यस्तै व्यवहार देखाउने हुन्छन् ।

बालबालिकाहरुलाई पिटेर न त अनुशासित बनाउन सकिन्छ न त आचरण सिकाउन सकिन्छ । पिटाइको साटो यस्ता उपाय गरेर बालबालिकालाई असल व्यवहार बनाउन सकिन्छ । 

१. बालकालिकालाई समय दिनुहोस् 

बालबालिकासँग जति नजिक भयो उति नै उनीहरुको भावना बुझ्न सजिलो हुन्छ । उनीहरुको प्रत्येक गतिविधि हेर्न सकिन्छ । बालबालिकाको विचार, अभिव्यक्ति आमाबुवाले  ध्यानपूर्वक सुन्नुपर्छ । 

बालबालिकाले के भनिरहेका छन्, के कुराको अभाव भएको छ, उसका साथीहरुले कस्तो व्यावहार गरेका छन्, विद्यालयमा शिक्षकहरुले कस्तो सोचिरहेका छन्,अउनीहरुलाई कस्तो चिज खान मन लागेको छ र उनीहरुलाई कहाँ जान मन लागेको छ सबै थाहा पाउन सकिन्छ ।

बालबालिकालाई आमाबाबुबाहेक संसारमा अरु कोही पनि ठूलो लाग्दैन । अप्ठेरो पर्दा विश्वासिलो र संरक्षण गर्ने सक्ने भनेको नै आमाबाबु हुन भन्ने सोचेका हुन्छन् । त्यसैले आफ्ना नानिबाबुहरुसँग जति धेरै समय बिताउनुभयो त्यति नै उनीहरुको भावना बुझ्न सजिलो  हुन्छ ।

दिनभरी अफिसमा काम गरेर बेलुका घरमा आउनुभएको छ भने पनि नानीबाबुसँग एकैछिन बसेर हालखबर सोध्ने बानीको विकास गर्नुहोस् । 

२. बालकालिकासँग साथी बन्नुहोस वा खेल्नुहोस्

आफ्ना नानीबाबुलाई साथीको रुपमा स्वीकार गर्नुपर्छ । जबसम्म बच्चा बच्चै हुन्छन भनेर सोचिन्छ वा व्यवहार गरिन्छ । त्यसले हामी आफैंलाई समस्या बनाउँछ । 

उनीहरुसँग कुरा गर्नुपर्छ ताकि तिनले पनि धेरै कुरा थाहा पाउन सकुन् । उसका व्यक्तिगत कुरालाई ध्यान दिनुपर्छ । तिमीलाई अप्ठेरो परेको बेलामा सहयोग गर्ने म छु नि भन्ने कुराहरु बेलाबेलामा भनिरहनुपर्छ । 

नानिबाबुले भनेका कति कुराहरु सही हुन पनि सक्छन् । उनीहरुका कुरालाई पनि मान्नुपर्छ । समय मिलाएर उनीहरुसँग खेलिदिने, चित्र कोर्ने, बगैंचातिर घुम्न जाने, गीत गाउने वा सुन्ने, दन्त्य कथाहरु सुनाउने गर्नुपर्छ ।

तपाईंलाई भित्रैदेखि मन पराएको वा विश्वास गरेको छ भने बालबालिकाले कहिल्यै नराम्रो काम गर्दैनन् । तपाईंको बोली नाघ्दैनन् । किनकि बालबालिकालाई तपाईँसग भएको सम्बन्ध विग्रने डर हुन्छ उनीहरुलाई । 

३. बालबालिकालाई सजाय वा गाली गर्ने नगर्नुहोस् 

आफ्ना बालबालिकालाई पिटेर वा सजाय दिएर अधिनमा राख्छु भन्ने सोच राख्नुभएको छ भने त्यो सोच आजैबाट हटाउनु पर्छ । पिट्नु वा पिटाई खानु भनेको समस्याको समाधान होइन । यसले त बालबालिकालाई झन आक्रामण गर्ने अनि घमण्डी हुन सिकाउँछ । 

बालबालिकालाई पिट्दा एकछिन माने जस्तो गरेपनि यसले पछिसम्म असर पु¥याउँछ । तपार्इंले दिएको सजाएका कारण बालबालिका तपाईंले सोचेका भन्दा ठिक उल्टो अर्थात नराम्रो बाटोतिर लागे भने वा उनीहरुले रिस पोख्न अन्य विकल्पहरु खोजे भने त्यसले तपाईंलाई नै समस्या पर्छ । 

बालबालिकालाई दिइने शारीरिक तथा मानसिक दुवै सजायले उनीहरुको शरीर र मन दुवैमा पीडा दिन्छ । यसो गर्दा उनीहरु अपमानित, असुरक्षित भएको, माया गर्ने कोहि पनि छैनन भन्ने सोच्छन् । त्यसैले अभिभावकहरुले सजाय दिने भन्दा पनि त्यसका विकल्प खोज्नुपर्छ । बालबालिकालाई अहिले हामीले जस्तो व्यवहार गरेका छौं पछि उनीहरुले गर्ने व्यवहार पनि उस्तै हुन्छ ।  

४. आफ्ना बालबालिकाको प्रशंसा गर्नुहोस्  

प्रशंसा भनेको यस्तो चिज हो जसले व्यक्तिको कार्यक्षमता बढाउँछ वा एक किसिमको शक्ति नै पैदा गर्छ । प्रशंसाले व्यक्तिको आत्मविश्वास बढाउँछ । आफ्ना बालबच्चाले गरेका सानो सानो कामलाई पनि धन्यवाद दिने वा प्रशंसा गर्नुपर्छ । ताकि उनीहरुलाई राम्रो काम गर्ने उत्प्रेरणा मिल्छ । 

बालबच्चाले गरेको राम्रो कामको विषयमा पनि अरुको अगाडि कुरा गर्नुहोस् । उनीहरुले पनि आफ्ना राम्रा कुराहरुको बारेमा अरुको अगाडि भनेको सुन्न चाहन्छन् । जसले गर्दा बच्चाले राम्रो बानी र कामलाई अनुसरण गर्छन् । 

समय समयमा बालबच्चाले राम्रो काम गरेवापत पुरस्कार दिने गर्नुहोस । पुरस्कृत गर्दा कुन काममा के गरे बापत दिएको हो भनेर स्पष्ट पार्नुपर्छ । साना साना बालबालिकाले गरेका उपलब्धिमा पनि खुसि हुने, पुरस्कार दिने र प्रशंसा गर्ने गर्नुपछ । यसो गदा बालबालिका खुशी हुन्छन् । 

५. बालबालिकासँग बढी अपेक्षा नराख्नुहोस्  

तपाईंका बालबालिकासँग बढी अपेक्षा नराख्नुहोस् । बढी अपेक्षा गर्नुभयो भने बच्चाले गरेको काममा तपाईं सन्तुष्ट हुन सक्नुहुन्न् । मेरो बच्चाले यति गर्न सकिहाल्छ नि, खाना आफैं खान सकिहाल्छ नि, अक्षर राम्रो बनाउन सकिहाल्छ नि, यति कुरा पनि यसलाई थाहा हुँदैन र भन्ने जस्तो कुरा नसोच्नुहोस् । 

गर्भमै जानेर वा बुझेर कोही पनि आएका हुँदैनन् । हामी हुर्केको समाज र परिवारमा भर पर्छ, बच्चा कस्तो परिवारमा र समाजमा हुर्केको हो भनेर । बच्चाहरुका अगाडि तपाईँ आफू नै नमुना व्यक्ति बनेर देखाउने कोशिस गर्नुहोस् । 

राम्रो काम गर्दा स्याबासी दिनुहोस्, अंकमाल गर्नुहोस, कुनै पनि काम गर्नु अगाडि यसरी गर्नुपर्छ, बिग्रियो भने त्यसको नतिजा यस्तो आउँछ भने सबै कुरा बताउनुहोस् । बच्चालाई  यो काम गर्नु हुँदैन भन्नु भन्दा पनि यसरी गर्दा कस्तो हुन्छ भनेर उसको भावनालाई बुनुहोस् । 

६. तपाईँको बच्चालाई अरुसँग तुलना नगर्नुहोस्  

आफ्नो बच्चालाई कहिल्यै पनि अरुसँग तुलना नगर्नुहोस् । कुनै काम बिगा¥यो भने वा पढेन भने गाउँकै फलानाको छोराछोरी जस्तो हुने भयो भनेर कहिल्यै पनि तुलना गर्नुहँुदैन । अनि फलानाका छोराछोरी ‘फष्ट’ भयो मेरो चाँहि किन नहुने भन्ने कुरा पनि गर्नु हुँदैन । 

किनकि स्याउको स्वाद स्याउमै हुन्छ, सुन्तलामा हुँदैन ।  प्रत्येक व्यक्ति कुनै न कुनै विषयमा जान्ने हुन्छन् । कोही पढ्नमा अगाडि हुन्छन्, कोही चित्र कोर्नेमा । कसैलाई गणित विषय आउँछ त कसैलाई अंग्रजी । यसको मतलब तपार्इँको बच्चा पनि कुनै एक कुरामा अगाडि छन् तर तपाईँले पहिचान गर्न सक्नुभएको छैन ।

हामीले जे रोपेका छौं त्यही फल्ने हो । आफ्नो बच्चालाई तेरो उमेरमा त म एक भारी घाँस काट्थें, खाना पकाउँथे, लुगा धुन्थें जस्ता कुरा गरेर बालबालिकालाई दबाव नदिनुहोस् । किनभने तपाईले सानो बेलामा गरेको काम तपाईको बच्चाले थाहा पाउन सक्दैनन् । 

७. बच्चा भएर सोचौं  

स्वभावैले बालबालिका चकचके हुन्छन् । उनीहरु नयाँ कुरा सिक्न चाहन्छन् ।  नयाँ काम गर्न चाहन्छन् । आफुले भनेको काम गर्न चाहन्छन् । उनीहरुले गर्ने प्रत्येक काम नराम्रो देख्नु हुँदैन  । किनकी उमेर अनुसार बालबालिकाहरुले गर्ने व्यावहारहरु फरक हुन्छन् । 

बालबालिकाले गर्ने व्यवहारलाई सहज रुपमा लियौं भने उनीहरुको बानी, व्यवहार अनि व्यक्तित्वलाई अवलोकन गर्न सक्यौं भने वा आफूलाई बच्चा भएर सोच्यौं भने तपार्इं हामीले बालबालिकालाई गर्ने व्यवहारमा फरकपन आउन सक्छ । 

बालबालिकाले यो कुरा ठिक वा बेठिक भनेर छुट्याउन सक्दैनन् । उनीहरुले जुन व्यवहार गरिरहेका छन् । त्यो कुरा उनीहरुको लागि ठिक लागेर गरेको पनि हुन सक्छ । तपाईं हामीले पनि बच्चा बेलामा गरेको कतिपय कुराहरु सम्झियौँ भने अहिले आएर त्यो बेलामा यस्तो गल्ति गर्नु हुँदैनथ्यो भन्ने लाग्छ । 

के हामीले त्यो बेलामा ठिक बेठिक छुट्याउन सकेका थियौँ त ? पक्कै पनि थिएनौं किनकि  हामी पनि त्यो बेलामा बच्चा थियौं । बच्चा भएकै कारण हामीले गल्ती गर्ने छुटका रुपमा लिएका थियौं ।  तर आज आएर हामीले बच्चा बेलाको समय बिर्सियौं । बच्चा बेलामा हुने भावनात्मक कुराहरुलाई सम्झियौं भने आजकै दिनदेखि तपाईंको सोच फरक आउन सक्छ ।   

धादिङमा मनोपरामर्शकर्ताको रुपमा काम गर्दा कत्ति अभिभावकहरु बच्चाको समस्या लिएर आउनुहुन्छ तर आमाबुवालाई नै समस्या भएको पाएको छु । आफ्नो तनावले गर्दा बच्चालाई समस्या भएको देख्ने अभिभावक धेरै छन् ।

बालबच्चाको उमेर र उनीहरुको क्षमता अनुसार कामको जिम्मेवारी दिनुपर्छ । उनीहरुले गर्न सक्ने काम लगाउँदा उनीहरुमा नेतृत्व लिन सक्ने क्षमता बढ्छ । बच्चाहरुको व्यवहार देखेर तपाईं तनाव नलिनुहोस् ।

बच्चाको व्यवहारलाई एकै चोटी बदल्ने प्रयास पनि नगर्नुहोस् । किनकि  व्यवहार एकै पटक परिवर्तन गर्न खोजेर हुने विषय होइन । तर प्रयास चाहिँ गर्नुहोस् । वैदेशिक रोजगारीका कारण बालबालिकाका कि बुवा विदेशमा छन कि त आमा । त्यसैले घरमा हुने उनीहरुका अभिभावकले त झनै ध्यान दिनुपर्छ । 

यो पनि पढ्नुहोस् 

परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ?

वैदेशिक रोजगारीले हुने तनाव र व्यवस्थापन गर्ने तरिका

रामकुमार थापा

थापा चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ अन्तर्गत सामी परियोजनामा मनोसामाजिक परामशकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ । 

तपाईको प्रतिक्रिया