पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना, सडक साँघुरो र गाडी ठूलो हुँदा समस्या

 चैत २२, २०८० बिहिबार १०:१५:५ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा जाँदै गरेको ट्रक हिजो दुर्घटना भएको हो । सडक साँघुरो र उपकरण बोकेको ट्रक ठूलो हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । ट्रक दुल्लू नगरपालिका–३ पालीमा सडकमै पल्टिएको हो ।

सडक चौडा पार्ने कम्पनीले सडकमा छोडेको ढुङ्गाहरुका कारण ट्रक सडकमै पल्टिएको र  दुईवटा क्रेनको सहायताले उठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । ट्रकले बोकेको मेसिन र ट्रकलाई छुट्टाछुट्टै उठाइएको छ । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

उपकरण लिएर अन्वेषणस्थल पुग्नु पर्ने १ सय २८ वटा ट्रकमध्ये अरु नेपालगञ्ज, सुर्खेत र दैलेखका विभिन्न ठाउँमा छन् । सडक साँघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ को जलजले पुग्न समस्या भएको छ । दैलेख–सुर्खेतको ६५ किलोमिटर सडक अति साँघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको साँगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्ने गरेको छ ।

यसरी कर्णाली राजमार्ग र मध्यपहाडीको सडक प्रयोग गर्दा ट्रकलाई झण्डै एक सय किलोमिटर पार गर्नुपर्छ । अन्वेषणका लागि उपकरणहरु पुर्‍याउको लागि सडक फराकिलो पार्न कर्णाली राजमार्गको सुर्खेतदेखि साँगेतडा र साँगेतडादेखि मध्यपहाडी राजमार्ग जोड्ने जम्बुकाँधसम्मको खण्ड ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । तर सडक फराकिलो नभएको कारण अहिले फेरि मोड सुधार गर्न लगाइएको छ ।

मोड सुधार नभएको र सडक पनि साँघुरो भएकाले अन्वेषणका लागि उपकरणहरु बोकेका ठूला ट्रकहरु गन्तव्यमा पुर्‍याउन गाह्रो भएको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले गुनासो गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया