इलाम र बझाङमा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल

 बैशाख १५, २०८१ शनिबार ६:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।

इलाम—२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव हुन लागेको हो । आयोगकाअनुसार इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै बझाङ १ (क) मा कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपचुनावमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया