बिग ब्याश लिगमा सिक्काबाट टस हुँदैन, त्यसो भए केबाट हुन्छ त ?

 मंसिर २५, २०७५ मंगलबार २०:२०:४१ | एजेन्सी
unn.prixa.net

क्रिकेट खेलमा मात्रै होइन, प्रायः हरेक खेलको टस सिक्काबाटै गराइन्छ । यो त हामीले देखेसुनेकै हो । तर क्रिकेट अष्ट्रेलियाले घरेलु टी–२० बिग ब्याश लिग(बीबीएल) मा भने सिक्काबाट टस नगराउने भएको छ । त्यसो भए सिक्काबाट टस नभएर केबाट हुन्छ त ? 

बीबीएलमा सिक्काबाट हुने टसको परम्परालाई परिवर्तन गरिँदै ब्याटबाट टस गराइनेछ । क्रिकेटमा टस जित्ने कप्तानले ब्याटिङ तथा फिल्डिङ रोज्ने विकल्प पाउनेछन् । 
यही डिसेम्बर १९ बाट सुरु हुने बीबीएलको आठौँ चरणमा पाहुना टिमका कप्तानलाई सिक्काको ‘हेड’ र ‘टेल’ को सट्टा क्रिकेट ब्याटको ‘हिल्स’(उठेको भाग) र ‘फ्ल्याट’(ब्याटिङ गर्ने भाग) मध्ये एउटा छान्ने विकल्प हुन्छ । अष्ट्रेलियाका गल्ली–गल्लीमा खेलिने क्रिकेटमा टसका लागि यही पद्धति नै लोकप्रिय रहेको छ ।

बिग ब्याश लिगकी प्रमुख किम म्याककोन्नीले यही परिवर्तनले नै यो लिगको विशेषता के हो भन्ने कुरा प्रष्ट हुने जनाएकी छिन् । उनले भनिन्, ‘केहीले यो परिवर्तनलाई रुचाएका छैनन् । तर म मानिसहरुसँग सोध्न चाहन्छु, अहिलेसम्म कसैले टसमा रुची देखाएको छ ?’

फ्लिपका लागि ब्याटिङ गरिने ब्याटको आपूर्ति बीबीएल आफैले गर्नेछ । 

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट बिग ब्याश खेल्ने छन् । मेलबर्न स्टार्सले पहिलो खेल २१ डिसेम्बरमा सिड्नी थण्डरसँग खेल्नेछ । 

सन्दीप जनवरीको पहिलो हप्ता बंगलादेश लिग खेल्न बंगलादेश जाने छन् । बंगलादेश प्रिमियर लिगमा सन्दीपले सिल्हेट सिक्सर्सबाट खेल्ने छन् । बंगलादेश प्रिमियर लिग सकेपछि सन्दीप पुनः बिग ब्याश खेल्न जानेछन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया