स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ

 बैशाख १३, २०८१ बिहिबार १८:१८:५७ | अजित विक्रम शाह
unn.prixa.net

नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको दायरा बढ्दै गएको छ । यसमा म कार्यरत भएको २० वर्षभन्दा बढी भयो । आईटीमा नयाँ प्रविधिको विकास र परिवर्तन भइरहेको छ । त्यसले गर्दा नयाँ किसिमको माग बढिरहेको छ । यसमा आईटीलाई देशभित्र उपभोग गर्ने र विश्वमा आईटी सेवामा कसरी सहभागिता जनाउने भनेर दुई वटा तरिकाले हेर्न सकिन्छ । आईटीलाई हामीले सीमाविनकाे देशजस्तो सोच्नुपर्छ । विश्वमा हामी भौतिक रूपमा बाँडिए पनि डिजिटल रूपमा बाँडिएका छैनौँ । त्यसैले नेपालमा चल्ने प्रविधि अमेरिकालगायत विकसित देशमा पनि चल्छ । आईटीसम्बन्धी सीप छ भने नेपालमै बसेर विदेशी आईटी कम्पनीमा काम गर्ने वतावरण छ । नेपालमा आईटी क्षेत्रमा ६० हजार जनाभन्दा धेरैले काम गर्ने गरेको तथ्याङ्क छ । एउटा अध्ययनअनुसार रेकर्डमा नभएका अनुमानित एक लाख जना मानिस आईटी क्षेत्रमा काम गरिरहेका छन् । अर्बाैँ डलर निर्यात पनि भएको छ । यो हेर्दा पर्यटन उद्योगभन्दा आईटी क्षेत्र ठूलो उद्योग बन्न सक्ने म देख्छु ।

नेपालमा आईटी पढाइ र सीप

म प्रत्यक्ष रूपमा शिक्षा क्षेत्रमा सहभागी छैन । तर अनुभवका आधारमा भन्नुपर्दा मेरो कम्पनीमा एक हजार जनाभन्दा बढीले काम गर्छन् । त्यसमा पाँच सय जनाले आईटी क्षेत्रमा मात्र सेवा दिइरहेका छन् । उनीहरूको अनुभव सुन्दा नेपालमा आईटीसम्बन्धी सीप जान्नेको सङ्ख्या राम्रो देखिन्छ । विश्वविद्यालय नगई अन्य तालिम प्रदायक शिक्षण संस्थामा गएर वा इन्टरनेटको माध्यमबाट स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ । कलेजमा गएर पाठ्यक्रम पढ्नेभन्दा पनि आईटीसम्बन्धी सीप सिकाउने तालिम धेरै उपलब्ध छन् । यसमा अझ स्नातक वा स्नातकोत्तर पढेरभन्दा पनि आईटीसम्बन्धी तालिम लिएर काम गरिहेको सङ्ख्या धेरै देखिन्छ । आईटीभित्र पनि विभिन्न प्रकारका नेटवर्किङ, प्रोग्रामिङ, डेटा, एआईलगायतका क्षेत्र छन् । उदाहरणका लागि हेर्ने हो भने भारतमा 'एनएनआरआईटी' पाठ्यक्रमभन्दा प्रशिक्षण आधारमा छ ।

आईटी भन्दैमा खाली प्रोग्रामिङ र कोडिङ मात्र होइन । आईटीलाई धेरै पाटोबाट हेर्न सकिन्छ । लेखाको काम, माइक्रोसफ्ट एक्सल, फोटोशपलगायत चलाउनु पनि आईटीसँग सम्बन्धित सेवामा पर्छन् । यो क्षेत्रमा काम गर्न शैक्षिक प्रमाणपत्रभन्दा हातमा सीप हुनुपर्छ । यसरी सिकेर फ्रिल्यान्सिङ, आउटसोर्सिङ आदि गर्न सकिन्छ ।

अहिले इन्टरनेटमा थप आईटीसँग सम्बन्धित जानकारी र तालिम धेरै छन् । यसमा खोजेमात्र हुन्छ, विभिन्न कार्यक्रम र तालिम सजिलै पाइन्छ । मेरो विचारमा अनुभव प्राप्त गर्न शुरुमा जता पनि काम गर्न तयार हुनुपर्छ ।

नेपालमा स्थानीय आईटी कम्पनी र विदेशी आईटी कम्पनी साझेदारीमा सञ्चालन भएका छन् । विदेशी कम्पनीको सेवा सुविधाले गर्दा आकर्षण देखिन्छ । यद्यपि नेपाली कम्पनी पनि कम छैनन् । तर आफ्नो वृद्धि र विदेश जाने अवसर प्राप्त गर्नका लागि पनि विदेशी कम्पनी रोजेको देखिन्छ ।

आईटीको प्रतिफल हेर्नुहोस्, लगानी होइन

महँगाे र सस्तो त्यसको प्रतिफलमा हेर्नुपर्छ । माग नभएका कुरा पढ्यो, सिक्यो भने हामीलाई महँगाे भएको अनुभव हुन्छ । त्यस्तै सीप सिकाउने पाठ्यक्रम पढ्यो भने त्यसले बजारमा छिटै रोजगारीको वातावरण बनाउँछ । सीप सिकाउने पाठ्यक्रमका बारेमा जानकारी लिनुपर्छ । यो पढ्यो भने आफ्नो भविष्य निर्धारण हुन्छ कि हुँदैन भन्नेबारे आफूले सोचविचार गर्नुपर्छ । आईटी पढ्नु भनेको आफ्नो सीप अध्ययन गरेको हो भन्ने बुझ्नुपर्छ । जस्तो कि अहिले विश्वमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टिलिजेन्स्' (एआई) चर्चाको विषय बनेको छ । हामी पनि अब एआई तालिम प्रदान गर्नका लागि एउटा आधिकारिक प्रमाणीकरणमा जाने कि भनेर छलफल भइरहेको छ । यसमा प्रम्ट इन्जिनियरिङ भन्ने हुन्छ । एआईले प्रोग्रामिमलाई प्राकृतिक भाषा नै बनाइदिएकाे छ । एआईसँग सञ्चार गर्नका लागि पनि छुटै सीप चाहिन्छ । त्यसका लागि तालिमको अवश्यक पर्छ । गाह्रो खालको कोडिङ त होइन तर केही फरक चाहिँ अवश्य हुन्छ । महँगाे/सस्तोको कुरा गर्दा यो सिकेपछि यसले मेरो भविष्य के हुन सक्छ भन्नेबारे थाहा हुनुपर्छ । आईटीमै पनि पाइथन, जाभा अथवा एआई हुन्छन् । तर एआई छनोट गर्न मेरो सुझाव छ । यसमा लगानी लामो समय हुन्छ र लगानी गरेअनुसार फाइदा पनि पक्कै हुन्छ ।

आईटीमा नेपालका उत्पादन सामाग्री

नेपालमा उत्पादन हेर्‍यो भने विदेश र यहाँको उत्पादनको गुणस्तरमा खासै फरक देखिँदैन । तर नेपाललाई एउटा ब्रान्ड बनाउन समस्या भइरहेको छ । नेपालमा सस्तो मूल्यमा सूचना प्रविधिका सामग्री उत्पादन हुन्छन् । नेपालीले एउटा गुणस्तरीय सामग्री बनाए पनि त्यही सामग्री सिङ्गापुर र अमेरिकाले बनायो भने उनीहरूको ब्रान्ड नै धेरै बिक्छ । अझै हामी त्यो सफलतामा पुग्न सकेका छैनौँ । अहिले भारतले त्यही गर्न खोजिरहेको छ । आज उसले 'मेड इन इन्डिया टु द वर्ल्ड' भन्दै प्रवर्द्धन गरिरहेको छ । ४० वर्षसम्म भारतले सस्तो मूल्यमा आफ्ना सामग्रीको बजारीकरण गर्‍यो । अहिले उसले उत्पादनमा जोड दिएको छ । 'मेड इन नेपाल' गर्न चाहिँ अलि समय लाग्ला । नेपाली कम्पनीले उत्पादन गरिरहेको छ तर ब्रान्डले गर्दा नेपाल पछाडि परिरहेको छ । मैले विभिन्न कार्यक्रममा पनि बोलेको हुन्छु, नेपाल सरकारले नै किन विदेशबाट आईटीका सामग्री किन्ने ? नेपालकै उत्पादन प्रयोग गरे हुँदैन ? भनेर प्रश्न गरिरहेको हुन्छु । केही सामान त विदेशबाट ल्याउनैपर्छ तर नेपाली सामानको गुणस्तरमा कमी छैन । नेपालमा बिकिरहेकै छ ।

आईटी क्षेत्रमा सरकारले केही महसुस गर्न थालेको छ

नेपाल सरकारबाट आईटी क्षेत्रबारे केही महसुस हुन थालेको छ । आउँदै गरेको लगानी सम्मेलनका बारे लगानी बोर्डको कार्यकारी अधिकृत सुशील भट्टसँग कुरा गर्दा उहाँले आईटीलाई पनि अगाडि लैजान्छौँ भन्नुभयो । दुई हप्ताअघि हामीले नेपाल उद्योग परिसङ्घ, अमेरिकन चेम्बर अफ कमर्स र आईटी मिलेर कार्यक्रम गरेका थियौँ । त्यो कार्यक्रमलाई लगानी बोर्डले पूर्व लगानी सम्मेनलको पहिचान दियो । निजी क्षेत्र पनि आईटीमा लागेको हुनाले यसको महत्त्व सरकारले महसुस गरेको छ । अब हामीले केही काम गर्नुपर्ने देखिन्छ ।

नेपालमा आईटी क्षेत्रलाई बढाउनुपर्छ भन्ने ध्यान केन्द्रित भएको छ । एउटा आईटी कम्पनी बनाउनेभन्दा पनि समग्र पारिस्थितिको प्रणाली बनाउनुपर्ने हुन्छ । उद्योग चल्नका लागि चाहिने कुरा पनि विकास हुन जरुरी हुन्छ । अघि भनेजस्तै सीपका लागि यहाँका विश्वविद्यालयका विद्यार्थी रोजगार बजारमा आउन सकून् । अर्को चाहिँ आईटी अनुकूल नीतिको आवश्यक पर्छ । इन्टरनेटमा सबै जना जोडिएका हुन्छन् । काठमाण्डौ र न्युयोर्क एक सेकेन्डमै जोडिन्छ । यसको शक्ति यति ठूलो छ कि यसको फाइदा अझ पनि हामीले उठाउनुपर्छ । विशेषगरी कोभिड–१९ सङ्क्रमण शुरु भएपछि विश्वका धेरै कम्पनीले ग्रामीण भेगमा पनि बसेर काम गर्न सहज हुने बनाएका छन् । १० वर्षमा १५ लाख जना मानिसलाई रोजगारी दिने उद्देश्यले हामीले नै एउटा कम्पनी शुरु गरेका छौँ । मेरो पनि आईटी क्षेत्रमा लगानी भएको हुँदा नेपाल उद्योग परिसङ्घसँग जोडिएको छु । परिसङ्घको आईटी क्षेत्र हेरिरहेको छु । सरकारसँग नेपालमा आईटी क्षेत्रको दायरा फराकिलो बनाउन नजिकबाट काम गर्न खोजिरहेको छु ।

विदेशी कम्पनीले नेपालमा कम्पनी खोल्न सहज वातावरण गराउन आवश्यक छ । अहिले भारत, फिलिपिन्स, भियतनाम, बङ्गलादेशलगायतका देशले आईटी कम्पनीका लागि कानुन आकर्षण गरेका छन् । नेपालमा पनि त्यो जरुरी देखिन्छ । निजी क्षेत्र भनेको प्रतिस्पर्धी क्षेत्र हो । हामीले नेपालभित्रै प्रतिस्पर्धा गर्ने होइन । भारत, फिलिपिन्ससँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेबारे रणनीति बनाउन सक्नुपर्छ । रणनीति बनाउनका लागि अनुकूल कानुन पनि भइदियो भने सहज हुन्छ ।

चालु बजेटमा १० प्रतिशत निर्यात रकमले विदेशमा पनि कम्पनी खोल्न पाउने भनेर आएको थियो । त्यस्तै खालको अनुकूल कानुन वा बजेट आयो भने नेपाली निजी क्षेत्रले नेपालको आईटी क्षेत्रलाई अझै माथि लैजान सक्छ । जसले गर्दा सेवाग्राहीले अरू देशमाभन्दा हाम्रो देशमा आईटीको उत्पादन कस्तो छ भनेर बुझ्न सक्छ । हामीसँग आठ हजार मिटरभन्दा माथिका हिमाल छन् । अब हामीले आईटी क्षेलाई नवौँ प्राविधिक शिखर बनाउनुपर्छ । नेपालमा हिमाल मात्रै होइन आईटीको क्षेत्र पनि हिमाल जतिकै उचो छ है भनेर ब्रान्डिङ गर्नुपर्छ । यसका लागि हामीले अब कुरेर बस्नु हुँदैन । स्पष्ट कानुन नहुँदा अहिले एउटा विदेशी आईटी कम्पनी घाटामा गएको छ । सरकारले निजी क्षेत्रमैत्री कानुन बनाउनुपर्छ । जसले गर्दा आईटी क्षेत्र समान रूपले अघि बढ्छ । 

(सूचना प्रविधि (आईटी) विशेषज्ञ अजित विक्रम शाहसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अजित विक्रम शाह

शाह नेपाल उद्योग परिसघंको सूचना प्रविधि (आईटी) परिषद्का प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया