१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुईजना अभियुक्त पक्राउ

 माघ २१, २०७५ सोमबार १०:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या भएको पाइएको छ । 

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई  लागू औषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या गरेको सार्वजनिक गरेको हो ।

यसरी भएको थियो घटना 

गएको माघ १२ गते  राति करिब  ८ बजेको समयमा  विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाही की १० वर्षीय बालिका रूमती दास हराइन् । उनका बुवा रामप्रसाद दासले जिल्ला प्रहरी कार्यालय मोरङमा १३ गते उजुरी दर्ता गर्दै थिए । रामले उजुरी दर्ता गराएको केही समय नुहँदै  बालिकाको शव सिंघिया खोलामा फेला परेको जानकारी प्रहरीमा आयो ।

मृतकको हजुरआमा सीतादेवी दासले शव खोलामा डुबेको देखेपछि सिंघिया खोलाको  किनारमा ल्याएर नाङ्गै रहेको शवलाई सलले छोपिन् र आफन्त तथा प्रहरीलाई खबर गरिन् ।  

घरभन्दा करिब ६ सय मिटर तल सिंघिया खोला किनारमा मृतकको शव  भेटिएको थियो । मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिनुभएको जानकारी अनुसार बालिकाको शव मुखबाट रगत बगेको, घाँटीमा कालो निल डाम देखिएको, यौनाङ्ग वरिपरी रगत जमेको अवस्थामा फेला परेको थियो । 

घटनापछि प्रहरीले २४ जनामाथि अनुसन्धान गरेको थियो । ती मध्ये २ जना दोषी भेटिएको हुन् । 

अब्बास अन्सारी नाम गरेका एक युवक भारतको जोगवनी गएर लागू औषध ल्याउने गर्थे । घटना भएको दिन पनि अन्सारीले ६ वटा नाइट्रोसन ट्याब्लेट ल्याएको प्रहरीको सुक्ष्म अध्ययनले देखाएको छ । 

अन्सारीले त्यो दिन एक महिलालाई आधा ट्याब्लेट खुवाउन खोजेका थिए तर ती महिलाले खान नमाने पछि आफैँले खाएका थिए ।

त्यस लगत्तै रक्सी खाएर मातेर आएका चन्दु महतोलाई अन्सारीले गाउँकी छिमेकी महिलासँग यौन सम्पर्क राख्ने इच्छा ब्यक्त गरे । त्यसपछि अन्सारीलाई चन्दुले पनि सहयोग गरे । उनीहरु दुवैजना बाहिर निस्किए ।

त्यतिबेला राति आठ बजिसकेकाे थियो बाहिर निस्किएकी बालिका रुमती दासलाई ती युवाहरुले देखे । उनीहरुले बलात्कार गर्ने योजना बनाएरै बालिकाको मुख थुनेर चौरमा लगी बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

‘दुबै जनाले पालैपालो बलात्कार गरेपछि बालिकालाई घाँटीमा अठ्याएर मारेको पाइयो, एसपी केसीले भन्नुभयो, ‘बालिका रुमतीको हत्या लगतै उनीहरुले खोलामा बगाएका थिए ।’

यसरी बालिका बलात्कार पछि हत्याको आरोपमा प्रहरीले २ जनालाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ८ बलुवाहीका वर्ष १९ का चन्दु महतो र सोही स्थान बस्ने वर्ष २५ को भुट्टु भन्ने अब्बास अन्सारी रहेका छन्  । यी दुवैजना मजदूरी गर्ने र लागू औषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई  जवरजस्ती करणी गरी कर्तब्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङमा म्याद थप गरस् अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया