चिडियाखानामा डाइनोसरसँग लुकामारी र कम्प्युटरमा खेल !

 फागुन १२, २०७५ आइतबार १२:१४:११ | उज्यालो सहकर्मी

 

काठमाण्डौ – तपाईं चिडियाखाना नगएको कति भयो ? धेरै दिन नै भैसकेको छ भने एकपटक जानुहोस्, तपाईंले पहिलेभन्दा धेरै कुरा परिवर्तन भएको पाउनुहुनेछ । जनावरका खोर सुधार, बाटो मर्मत, पानीका फोहोरा सञ्चालन मात्र होइन चिडियाखानाले डिजिटल अध्ययन केन्द्र पनि स्थापना गरेको छ ।

अघिल्लो हप्ता मंगलबारदेखि सुरु भएको यो अध्ययन केन्द्र अहिले बालबालिकाको लागि सबैभन्दा बढी आकर्षणको ठाउँ बनेको छ । यहाँ कम्प्युटरको स्क्रिनमा बिभिन्न वन्यजन्तुसँग सँगै रहेको कल्पना गर्न तथा कम्प्युटरमा गेम खेल्न र जनावरको आवाज सुन्न पनि सकिन्छ । 

अग्लो जनावर डाइनोसर लोप भैसकेको छ । तर अध्ययन केन्द्रको स्क्रिन अघिल्तिर उभिँदा डाइनोसरसँगै आफू भएको कल्पना गर्न सकिन्छ । ढोकाबाट भित्र छिर्नेबित्तिकै बायाँतिर भित्तामा रहेको स्क्रिन अघिल्तिर उभिंदा आफ्नो आकृतिसँगै डाइनोसरको आकृति देखिन्छ । सँगै माछा र अरु जनावर पनि देख्न पाइन्छ । 
‘स्क्रिनमा आफूसँगै जनावरको तस्बिर देखिंदा बालबालिका निकै रमाउने गरेका छन्’ चिडियाखानाका प्रमुख डा. चीरञ्जीविप्रसाद पोख्रेलले भन्नुभयो, ‘स्क्रिनमा हेर्दा लोप भैसकेको डाइनोसरसँग पनि आफू सँगै छु भन्ने लाग्छ ।’

यस्तै कम्प्युटर स्क्रिनमा बिभिन्न जनावरको आवाज सुन्न, जनावरको बारेमा जानकारी लिन तथा जनावरकै विषयमा गेम खेल्न पनि पाइन्छ । खेल र मनोरञ्जनको माध्यमबाट संरक्षण शिक्षा लिन यो केन्द्र निकै उपयोगी हुने पोख्रेलले बताउनुभयो । 

पूर्णरुपमा डिजिटल मैत्री संरचना सहितको सेन्टरले जैविक विविधता, रैथाने र लोपोन्मुख जिवजन्तुबारे विस्तृत जानकारी प्रदान गर्छ ।

अत्याधुनिक कक्षमा जडान भएका ८ वटा स्किृनले संरक्षण शिक्षा, सहित चिडियाखानामा प्रदर्शनीमा रहेका समग्र वन्यजन्तु र चिडियाखानाका गतिविधी पनि अवगत गराउँछन् । साथै चिडियाखानाका आगन्तुकले संरक्षण शिक्षासँग सम्बन्धित हाजिरी जवाफ जस्ता खेल पनि स्किृनमा खेल्न सक्छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख रुपियाँको आर्थिक सहयोगमा केन्द्र तयार भएको हो । ‘फिल्ड मार्शल सर जोन च्याप्पल शिक्षा केन्द्र’को गएको मंगलबार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले उद्घाटन गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया