सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बैतडी – पञ्चेश्वर गाउँपालिकाले बहुउद्देश्यीय आधुनिक कृषि पाठशाला सञ्चालनमा ल्याएको छ ।
आधुनिक खेती प्रणालीबाट तरकारी खेती गर्नका लागि गाउँपालिकाको वडा नम्बर–६, गर्मामा जमिन भाडामा लिएर कृषि पाठशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।
पाठशालामा आधुनिक खेती प्रणालीबाट तरकारी खेती सुरु गरिएको छ । पाठशालाबाट किसानहरुले आधुनिक कृषि प्रणालीका बारेमा सीप सिक्ने अध्यक्ष चन्दले बताउनुभयो । यसका साथै त्यस फार्ममा काम गरेबापत किसानहरुलाई दैनिक ज्यालासमेत दिने गरेको उहाँले जानकारी दिनुभयो । कृषि पाठशालामा तरकारी, प्याज, काउली, च्याउ, टमाटरलगायतका अन्य तरकारी लगाइएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको पाठशालामा ४ जना कृषि प्राविधिकहरुले आधुनिक कृषिका बारेमा जानकारी दिइरहेका छन् भने दैनिक १५ भन्दा बढी किसानहरुले सीपसँगै आयआर्जनसमेत गरिरहेका छन् ।
गाँउपालिकाले भाडामा लिएको जमिनमा तारबार गरेर पानीको व्यवस्था, चौकीदार बस्ने ठाउँको व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ । कृषि फार्ममा १ हजार बोट केरा, १ हजार बोट अनार लगाउने तयारीसमेत गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
यस्तै कृषि पाठाशालामा केही दिनमा नै बाख्रापालन, माछापालनलगायतका कामहरु पनि सुरुवात गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
बहुउद्देश्यीय कृषि पाठशालाका लागि गाउँपालिकाले ५० लाख बजेट विनियोजनसमेत गरेको गाउँपालिकाले जनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कृषि पाठशालाले किसानहरु निकै फाइदा हुने विश्वास गरिएको छ ।