झण्डै ३० प्रतिशत युवा वैदेशिक रोजगारमा, युवा विदेशिनुको कारण खोजिने मन्त्री विष्टको भनाई

 फागुन २८, २०७५ मंगलबार १५:२१:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – झण्डै ३० प्रतिशत युवा कामको खोजीमा विदेशिने गरेको एक अध्ययनले देखाएको छ । कूल जनसँख्याको झण्डै ४४ प्रतिशत युवा रहेका र त्यसमध्ये झण्डै ३० प्रतिशत युवा काम खोज्दै विदेशिने गरेको राष्ट्रिय युवा नेतृत्वको अध्ययनले देखाएको हो ।

मंगलबार काठमाण्डौमा भएकाे एक कार्यक्रममा युवा नेतृत्वले अध्ययन सार्वजनिक गरेकाे हाे । काम खोज्दै विदेशिनेमा सबैभन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समूहका युवा रहेको अध्ययनमा उल्लेख छ । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा भएको काम छाडेर युवा विदेशिनुको कारण खोज्ने बताउनुभएकाे छ । 

उहाँले देशभित्रै बसेर आम्दानी गर्न सकिने काम छाड्दै बर्सेनि धेरै युवा विदेशिनुको कारण खोज्ने र देशमा काम गर्ने वातावरण बनाउन सरकारले सक्दो पहल गर्ने बताउनुभयो । 

‘एकतिर श्रम बजारमा जनशक्तिको अभाव छ, अर्कातिर युवाहरुले काम पाइरहेका छैनन्, लाखौं युवा विदेश गइरहेका छन्, यसलाई सन्तिुलित गर्न आवश्यक छ,’ मन्त्री विष्टले भन्नुभयो, ‘ वैदेशिक रोजगारीमा युवा किन आकर्षित भइरहेका छन् अध्ययन गर्न आवश्यक छ र यो काम सरकाले गर्नेछ ।’

सरकारले युवालाई विभिन्न खालका सीपमुलक तालिम दिए पनि बजारको आवश्यकता र सरकारले दिएको तालिमबीच तालमेल नभएको भन्दै मन्त्री विष्टले सबै युवालाई आवश्यकता अनुसारको तालिम दिएर कामका लागि तयार पार्ने स्पष्ट पार्नुभयो । 

युवालाई देशभित्रै रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीको ढोका खोलेको र सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै मन्त्री विष्टले स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । 

त्यसैगरी स्वदेशको रोजगारीसँगै वैदेशिक रोजगारीलाई पनि पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन सरकारले कामदारको सुरक्षाको प्रत्याभूति हुनेगरी गन्तव्य देशसँग श्रम समझदारी गर्ने र गुणस्तरीय रोजगारीको सम्भावना रहेका देशमा कामदार पठाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामको खोजी गरिने र त्यसै अनुरुप बेरोगार युवालाई न्यूनतम सय दिनको रोजगारीको ग्यारेण्टी गरिने बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया