मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन जुटे लमजुङका किसानः उत्पादन बढ्ने, रोग नलाग्ने

 बैशाख १४, २०७६ शनिबार १५:३२:३३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङकी किसान आशकुमारी गुरुङले विगतमा घरमा गाईबस्तु पाल्नुहुन्थ्यो । गाईबस्तुको मलमूत्रउहाँले खेतबारीमा प्रयोग गर्नुहुन्थ्यो ।

अहिले उहाँले गाईकस्तु पाल्न छाड्नुभएको छ । उहाँजस्तै गाउँघरमा अहिले गाईबस्तु पाल्नेको संख्या घट्दो छ । त्यसैले पनि खेतीपातीका लागि आवश्यक मल पाउन समस्या छ । 

खेतीपातीका लागि मल पाउन समस्या भएसँगै आशकुमारीले घरमा संकलन हुने पिसाब खेतबारीमा प्रयोग गरी खेती गर्ने योजना बनाउनुभएको छ । 

‘गाउँमा पशुचौपाय पाल्न छाडिएको छ । मल पाउन समस्या छ । यसको सट्टामा घर तथा सार्वजनिक स्थलमा संकलन भएको मानव मलमूत्र बालीमा हाल्ने योजना बनाएको छु’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार घरमै पिसाब संकलन गरेर बारीमा प्रयोग गर्दा उत्पादन बढ्छ ।  रोग लाग्दैन । ‘यस्तो जानकारी हामीले तालिमबाट पाएका छौँ’,उहाँले भन्नुभयो, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहजलागेको छ ।’

स्थानीय किसान बैंशबहादुर गुरुङका अनुसार मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेका छन् । 

पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन यहाँका किसान जुटेका हुन् ।  बजारमा पाइने रासायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेका हुन् । 

‘वैैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिन्छ । संकलित पिसाब बोटविरुवा तथा तरकारीमा हालिन्छ,’ उहाँले भन्नुभयो । 

वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई ‘कृषि बालीमा मानव मलमूत्र’ सम्बन्धी ३ दिने तालिम दिइसकेको छ । पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको छ । 

उहाँका अनुसार सुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाब संकलन गर्नेछन् । तरकारी लगाएको ठाउँमा हाल्नेछन् । एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्नसकिन्छ । 

जिल्ला सु–आहारा सरसफाइ अधिकृत रोशन चौलागाईँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । 

घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार स्याङजा, म्याग्दी, बाग्लुङलगायतका जिल्लाका कतिपय किसानले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गरिरहेका छन् । राम्रो कृषि उत्पादन गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया