कांग्रेसको नेतृत्व लिन नेताहरुको दौडधुप, नछोड्ने दाउमा देउवा

 साउन २३, २०७६ बिहिबार ९:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्धारित समयमा नै महाधिवेशन गर्ने वा महाधिवेशन एक वर्ष पर सार्ने भन्ने विषयमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बहस जारी छ । 

गएको १७ गते बसेर स्थगित भएको बैठक अब २६ गते फेरि बस्दै छ । बुधबारका लागि तय भएको बैठक नेताहरु व्यस्त हुँदा २६ गतेसम्मका लागि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

असार २२ गतेदेखि बस्दै आएको बैठक विशेष गरी १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषय केन्द्रित छ ।

पार्टीका अन्तरिम संरचनाहरु अझै बनिनसकेको र यो मंसिरसम्ममा पनि संरचना बनाउन कठिन हुने भन्दै संस्थापन पक्षले महाधिवेशन एक वर्ष पर सार्न सकिने विषयमा छलफल चलाउन खोजेको छ । तर सस्थापन इतर पक्ष भने जसरी पनि निर्धारित समयमा नै महाधिवेशन गराउनु पर्ने अडानमा छ । निर्धारित समयमा अधिवेशन गराउने हो भने यो मंसिरसम्म कांग्रेसले पार्टीको विधानले व्यवस्था गरेअनुरुप तल्लो तहसम्मको संरचनालाई पूर्णता दिनु पर्छ ।

टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको परिकल्पना गरेको भए पनि यी संरचनाहरुले अहिले पूर्णता पाएका छैनन् ।  

यो संरचनालाई पूर्णता कसरी दिने भन्ने विषयमा पनि सस्थापन पक्ष र सस्थापन इतर  पक्षबीच कुरा मिल्न सकेको छैन ।

संस्थापन पक्षले मनोनयनमार्फत पार्टीको सबै तहका संरचनालाई पूर्णता दिने विषयमा जोड दिए पनि सस्थापन इतर पक्ष भने प्रजातान्त्रिक पार्टीले प्रजातान्त्रिक पद्धतिमार्फत चुनावबाट नै संरचनालाई पूर्णता दिनुपर्ने आवाज उठाइरहेका छन् । 

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले अन्तरिम संरचनालाई कसरी पूर्णता दिने भन्नेबारेमा बैठकमा कुरा उठे पनि अहिलेसम्म ठोस निर्णय भइ नसकेको तर छोटो बाटोमार्फत कसरी पूर्णता दिन सकिन्छ भन्ने विषयमा भने उपाय खोजी भइरहेको बताउनुभयो । 

गएको मंसिर–पुसमा सम्पन्न भएको महासमिति बैठकले पारित गरी फागुन १२ मा बसेको केन्द्रीय समितिले अनुमोदन गरेको विधानले पार्टीको तल्लो तहसम्मको संरचनाको व्यवस्था गरेको थियो ।  
गएको शुक्रबार बसेको बैठकमा आगामी मंसिर मसान्तभित्रमा क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने र त्यसपश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मात्रै १४औँ महाधिवेशनको कार्यतालिकाका बारेमा निर्णय गर्ने भन्ने विषयमा छलफल भएको थियो । 

निर्धारित समयमा नै महाधिवेशन गर्ने हो भने यही चैतभित्रै गर्नु पर्ने छ । तर चैतभित्र महाधिवेशन गर्न समय अभाव हुने भएकाले पछि सार्ने भन्ने विषयमा बैठकमा सहमतिको खोजी हुने सहमहामन्त्री प्रकाशमान सिंह बताउनुहुन्छ । ‘अहिले पार्टीको विभिन्न ८ ओटा तहका संरचनालाई पूर्णता दिन बाँकी छ । ती संरचनाले पूर्णता पाएपछि मात्रै महाधिवेशनको बाटो खुल्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले यो सबै काम सक्न समय लाग्ने र महाधिवेशनका लागि तयारी पनि अपुग हुने भएकाले समय पर सारेर अघि बढ्नु उपयुक्त हुन्छ ।’ 

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महाधिवेशन एक वर्षपछि सर्ने पक्कापक्की नै भएको बताउनुहुन्छ । 

नेतृत्वको होडमा नेताहरुको दौड

महाधिवेशन एक वर्षपछि सर्ने पक्कापक्की नै भए पनि नेताहरु भने नेतृत्वमा आफ्नो आकांक्षा जाहेर गर्दै हिँड्न थालिसकेका छन् ।  

१३औँ महाधिवेशनबाट नेतृत्व हात पारेका पार्टी सभापति शेरबहादुर देउवा फेरि नेतृत्व दोहोर्याउने दौडमा हुनुहुन्छ । देउवासँग अहिले पनि केन्द्रीय सदस्यमध्ये ३० प्रतिशत मत रहेकाले नेतृत्वमा उनलाई पाखा लगाउन सकिने अवस्था छैन । नेतृत्वको दौड छाडेर दोस्रो पुस्तालाई नेतृत्व सुम्पन पनि देउवा तयार देख्नुहुन्न् । 

गएको २०७४ मंसिरमा भएको संसदीय चुनावमा पार्टी नराम्रोसँग पराजित भएपछि सभापति देउवाको चर्को आलोचना हुनुका साथै विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको आवाज उठेको थियो । सभापति देउवाको विकल्पको खोजी गरौँ भन्दै पार्टीभित्र युवा नेताहरुको मोर्चा नै बनेको थियो । तर पनि सभापति देउवाका अगाडि यस्ता सबै आवाजहरु हराएर गए । 

१४औँ महाधिवेशनबाट नेतृत्व हत्याउन देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताको दौड सुरु भइसकेको छ । 

१३ औँ महाधिवेशनमा पनि देउवा पौडेल र सिटौला नै नेतृत्वको लागि चुनावी दौडमा थिए । तर १४औँ महाधिवेशनमा आइपुग्दा भने नेतृत्वको दौडमा अन्य २/३ जना थपिन सक्ने पार्टीकै नेताहरु बताउँछन् ।

१३ औँ महाधिवेशनका बेला सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी उम्मेदवार बनेका थिए । पौडेल नेतृत्वको प्यानलमा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार थिए । देउवा प्यानलबाट भने अर्जुननरसिंह केसी महामन्त्रीको उम्मेद्वार हुनुहुन्थ्यो । तर त्यो महाधिवेशनबाट पौडेल प्यानलबाट उम्मेद्वार बनेका शशांक कोइराला महामन्त्रीमा निर्वाचित हुन सफल हुनुभयो । अब उनै कोइराला नेतृत्वको दौडमा लाग्नुभएको छ । 

देशका विभिन्न ठाउँमा पुगेर नेताहरुले आगामी महाधिवेशनका लागि आफू नै उम्मेद्वार बन्ने घोषणा नै गर्न थालिसक्नु भएको छ । शशांक कोइराला देशको जुन ठाउँमा पुगे पनि  अबको महाधिवेशनबाट पार्टीको नेतृत्व कोइराला परिवारमै फर्काउने भन्दै त्यसका लागि कोइराला परिवार एक भएर अघि बढेको बताउनु छाड्नुहुन्न ।

यस्तै रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाले पनि महाधिवेशन केन्द्रित भएर आफ्नो रणनीति अघि बढाइरहनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व आफूबाट अन्यत्र जान नदिन आफूबाट टाढिएकाहरुलाई पनि समेट्ने रणनीति बनाएर अघि बढ्नुभएको छ ।  

नेतृत्व हस्तान्तरण  

अहिलेकै अवस्थाअनुसार कांग्रेसको नेतृत्व नयाँ पुस्तामा जान असम्भव देखिन्छ । अहिले देउवा र पौडेल छाडेर अर्को व्यक्तिको हातमा नेतृत्व पुगे मात्रै आगामी दिनमा अहिले नाम चलेका दोस्रो पुस्ता वा युवा पुस्ताको हातमा नेतृत्वको लगाम पुग्न सक्छ । 

कांग्रेसमा आशलाग्दो नेताको रुपमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भण्डारी, शंकर भण्डारी, गुरु घिमिरे, प्रदीप पौडेललगायतको नाम अगाडि छ ।

तर अहिलेकै अवस्था रहने हो भने अहिले युवा नेता रहेकाहरुको पालो पनि त्यस्तै उमेर घर्के पछि मात्रै आउने देखिन्छ ।केन्द्रीय सदस्य प्रदीप पौडेल चुनाव लगत्तैबाट नेतृत्व हस्तान्तरणको मुद्धा आफूहरुको रहे पनि अहिलेको अवस्थामा त्यो कठिन रहेको बताउनु हुन्छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया