प्रिमियर लिगमा लिभरपुलको प्रभावशाली सुरुवात, सिजनको पहिलो गोल आत्मघाती

 साउन २५, २०७६ शनिबार ६:५६:५७ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको यो सिजनको उद्घाटन खेलमा साविक उपविजेता टिम लिभरपुलले प्रभावशाली जित निकालेको छ । जसमा उसले नोर्विच सिटीलाई चार-एकले हरायो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा उसले गोल थप्न सकेन भने नोर्विचले एक गोल फर्कायो ।

यो सिजनको पहिलो गोल नै आत्मघाती भएपछि लिभरपुलले एक-शून्यको अग्रता बनायो । सातौं  मिनेटमा नोर्विचका कप्तान ग्रान्ट हेन्लीले डिभोक ओरीगीको क्रसलाई बचाउन खोज्दा आफ्नो पोस्टमा गोल गर्न पुगे ।

त्यसपछि १९ औं मिनेटमा रोबेर्टो फेरमिन्होको पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुको अग्रता दुई-शून्यमा पुर्‍याएका । २८ औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । सलाहको कर्नर बललाई भर्जिल भान डिजिकले गोलमा परिणत गरे । जसका कारण लिभपुल आधा घण्टाभित्र नै तीन-शून्यले अगाडि रह्यो ।

४२ औं मिनेटमा ओरीगीले ट्रेन्ड आर्नोल्डको पासमा लिभरपुलका लागि चौथो गोल गरे ।

पहिलो हाफमा चार गोलको अग्रता बनाएको लिभरपुलविरुद्ध नोर्विचले ६२ औं मिनेटमा एक गोल फर्काएको थियो । तर त्यसपछि उसले थप गोल गर्न सकेन र लिभरपुलले अंक तालिकामा पहिलो तीन अंक जोड्यो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया