उज्यालो देखाउने तीन अगुवा : रामप्रसाद पोखरेल, सन्दुक रुइत र दमन घले

 साउन २९, २०७६ बुधबार २०:४:२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४, उत्तरपानीका रोशन थिङले १३ वर्षपछि आँखा देखे ।

जिन्दगीमा पहिलोपटक संसार देख्न पाउँदा उनले खुशी थाम्न सकेनन् । आफ्नो आँखाको ज्योति फर्काइदिने डाक्टर सन्दुक रुइतलाई गर्ल्याम्म अँगालो हाले । रोशनको खुशी र अँगालोले डाक्टर रुइतलाई पनि भावुक बनायो ।

जन्मजातै उनको आँखामा समस्या थियो । अघिल्लो महिना असार १६ गते परीक्षण गर्दा दुवै आँखामा मोतिबिन्दु भएको पत्ता लागेपछि डाक्टर रुइतको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आँखाको पट्टी खोल्दा रोशनले आफ्नै उपचारमा खटिएका डाक्टर सन्दुक रुइतलाई देखे । त्यसपछि उनी खुशीले चिच्याए र डाक्टर रुइतलाई अँगालो हाले । त्यो शिविरमा रोशनसहित एक सय ५० जना बिरामीकोे मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर

ठाउँ–ठाउँमा हुने यस्तै शिविर र आँखा अस्पतालमा उपचार गर्न जानेले हिजोआज यसैगरी उज्यालो देख्न पाउँछन् । आँखा नदेखेरै अँध्यारोमा रुमलिनुपर्ने अवस्था हटेको छ । जसले आँखा उपचारपछि संसार देख्न सके, उनीहरु जिन्दगीकै सबैभन्दा ठूलो खुशी फर्किएकोमा फुरुङ्ग छन् । आँखा देख्न सक्नेगरी उपचार र सेवा विस्तारमा लाग्नेहरु पनि ती आँखा देख्नेहरुको खुशीमा खुशी साट्दैछन् ।

अहिले आँखामा लाग्ने रोगको उपचारका लागि देशबाहिर धाउनुपर्ने अवस्था छैन । अनि उपचारमा मोटो रकम खर्च गर्नुपर्ने बाध्यता पनि हटेको छ । त्यसैको प्रतिफल आँखा नदेख्नेहरु उपचारपछि आँखा देख्दैछन् । नेपालमै आँखा उपचार सहज, सस्तो र भरपर्दो छ ।

आँखा उपचारमा यो क्रान्ति ल्याउन वर्षौंको मेहनत र लगाव छ । त्यसमा पनि मुख्य तीन व्यक्ति डाक्टर रामप्रसाद पोखरेल, डाक्टर सन्दुक रुइत र दमनबहादुर घलेको योगदान महत्वपूर्ण छ ।

डाक्टर रामप्रसाद पोखरेल, संस्थापक – नेपाल आँखा अस्पताल

नेपालमा आँखा अस्पताल खुल्नुमा डाक्टर रामप्रसाद पोखरेलको महत्वपूर्ण योगदान छ । ८२ वर्षअघि धनकुटामा जन्मनुभएका पोखरेलले बेलायतमा पढ्नुभयो । अनि २०२८ सालमा नेपाल फर्कनुभयो र आँखा उपचार थाल्नुभयो ।

डाक्टर रामप्रसाद पाेख्रेल

सुरुमा उहाँले वीर अस्पतालमा काम गर्नुभयो । ‘त्यतिबेला वीर अस्पतालमा आँखाका बिरामीले पालो कुर्नुपर्थ्यो, झाडापखाला, क्षयरोग, मलेरियाजस्ता रोगका बिरामीले उपचारमा प्राथमिकता पाउँथे । तर अन्धोपनलाई गम्भीर रोग मान्ने चलन पनि थिएन र सरकारको ध्यान समेत गएन’, उहाँले विगत सम्झनुभयो ।

वीर अस्पतालको सेवाबाट विरक्त भएका पोखरेल त्यसपछि छुट्टै आँखा अस्पताल खोल्न लाग्नुभयो । उहाँकै पहल र प्रयासमा २०३० सालमा काठमाण्डौको त्रिपुरेश्वरमा नेपाल आँखा अस्पताल खुल्यो ।

अहिले गुठी संस्थान रहेको ठाउँमा त्यसबेला आवश्यक पर्दा जग्गा गुठीलाई फिर्ता दिनेगरी जीर्ण भवनबाट आँखाको सेवा सुरु भएको हो । तीनवटा कोठा रहेको भवनमा सेवा सुरु गर्दा डाक्टर पोखरेलले बेलायतबाट ल्याएका उपकरण समेत अस्पताललाई निःशुल्क दिनुभएको थियो ।

‘मैले बेलायतबाट झण्डै ८ हजार पाउण्डका सामग्री ल्याएको थिए (त्यो बेला एक पाउण्ड बराबर ४० रुपैयाँ) ती सबै अस्पतालका लागि डोनेट गरेको हुँ’, उहाँले भन्नुभयो ।

नेपालमा आँखा उपचार, सेवा विस्तार र पहुँचका लागि उहाँ २०२८ सालदेखि नै सक्रिय हुनुहुन्छ । अहिले ८२ वर्षको उमेरमा पनि उहाँ आँखा उपचार र सेवा विस्तारमै लाग्नुभएको छ । 

‘नेपाल अहिले आँखा उपचारमा आत्मनिर्भर छ’, डाक्टर पोखरेलले भन्नुभयो, ‘आँखाको उपचारमा नेपालले जुन सफलता र उपलब्धि प्राप्त गरेको छ त्यसलाई जोगाइराख्न निक्कै चुनौती छ ।’ उहाँकै पहलमा नेपालमा पहिलोपटक सन् १९८०/८१ मा अन्धोपनाको अवस्थाबारे सर्भेक्षणसमेत भएको थियो । यसमा आँखाका डाक्टर सन्दुक रुइत पनि सहभागी हुनुहुन्थ्यो । जसले डाक्टर रुइतको जीवनमा नयाँ मोड लिन पुग्यो ।

डाक्टर सन्दुक रुइत, संस्थापक – तिलगंगा आँखा अस्पताल

डाक्टर पोखरेलका विद्यार्थीमध्येका एक हुनुहुन्छ, डाक्टर सन्दुक रुइत । २०१२ सालमा ताप्लेजुङको ओलाङचुङगोलामा जन्मेका डाक्टर रुइत ६४ वर्षको हुनुभयो । उहाँले अहिले पाएको सफलताको यात्रा निक्कै कष्टकर छ ।

छिमेकी चीनसँग सीमा जोडिएको ओलाङचुङगोलामा जन्मिए पनि उपलब्धिमा पुग्ने उचाइलाई दुर्गम भूगोल र कष्टले छेक्न भने सकेन । सुरुवाति दिनमा वीर र नेपाल आँखा अस्पतालमा सेवा गरेका उहाँ तिलगंगा आँखा अस्पतालको संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको तिलगंगा आँखा अस्पताल विश्वमै उत्कृष्टमध्येको एउटा आँखा अस्पतालका रुपमा स्थापित छ ।

२०५२ सालअघि मोतिबिन्दुबाट आँखाको दृष्टि गुमाउनेहरु अन्धकारमा बाँच्नुपर्ने बाध्यता थियो । तर रुइतकै नेतृत्वमा विकास भएको ‘आँखा उपचार नेपाल मोडल’ भनेर अहिले विश्वभरि नै प्रचलित छ । त्यसैले पनि अहिले डाक्टर रुइत र मोतिबिन्दुको उपचार पर्यायवाची जस्तै बनेको छ । उहाँकै प्रयासमा बनेको लेन्स अनि लाखाैँको संख्यामा बिरामीको उपचारले धेरैलाई अँध्यारोबाट उज्यालोमा ल्याइपुर्याएको छ । जुन उहाँको सफलतासँग जोडिएको छ ।

डाक्टर पोखरेलको पहलमा भएको आँखासम्बन्धी रोगको अवस्था अध्ययनले मोतिबिन्दु नै नेपालमा हुने अन्धोपनाको पहिलो कारण रहेको निचोड निकाल्यो । त्यसपछि मोतिबिन्दुको उपचारबारे बढी चिन्ता लाग्न थालेको डाक्टर रुइत बताउनुहुन्छ । जुन चिन्ता अहिले निवारण समेत भैसकेको छ ।

मोतिबिन्दु भएका बिरामीलाई शल्यक्रियापछि दृष्टि दिन सकिन्छ । शल्यक्रियापछि पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने गरिन्छ । आँखामा शल्यक्रियापछि राख्ने कृत्रिम लेन्स नेपालमै बन्छ । तिलगंगामा उत्पादन हुने लेन्स नेपाली बिरामीलाई २ सय ५० रुपैयाँ मात्रै पर्छ, जुन लेन्स उत्पादन र सहज हुनुमा डाक्टर रुइतको योगदान छ ।

‘यस्तो मौका कमैले मात्र पाउँछन्’ उहाँ भन्नुहुन्छ, ‘आर्थिक अभावका कारण कसैले पनि आँखा देख्नबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ 

मानिस खुशी हुने र उज्यालो देख्ने कुनै अस्त्र छ भने त्यो आँखाको अन्धोपन उपचार नै रहेको उहाँको अनुभव छ । अनि डाक्टर रुइतका लागि नेपालको कुनै पनि कुना नौलो छैन । उहाँ आँखा उपचारको शिविर लिएर देश अनि विदेश पनि पुग्नुहुन्छ । र अझै पनि धेरै नेपालीको आँखाको ज्योति फर्काउन निभाउनुपर्ने दायित्व बाँकी दिनमा निभाउने डाक्टर रुइतको प्रतिज्ञा छ ।

भारतीय राष्ट्रपति रामनाथ काेबिन्दबाट पद्म श्री अवार्ड ग्रहण गर्दै डाक्टर सन्दुक रुइत

आँखाको उपचारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उहाँलाई सन् २००६ मा रमन म्यागासेसे अवार्डले सम्मानित गरिएको थियो । त्यस्तै उहाँलाई गएकाे वर्ष भारतकै प्रतिष्ठित मानिने पद्म श्री अवार्डबाट समेत सम्मानित गरिएकाे छ ।

अहिले रुइतको अभियान नेपालमा मात्रै सीमित छैन । उहाँको मोबाइल आई क्याम्प चीन, भारत, बंगलादेश, कम्बोडियादेखि उत्तर कोरियासम्म पुगेको छ । सन् २००६ मा उहाँको टिमले ६ दिनमा एक हजारभन्दा बढीको अपरेसन गरी आँखाको ज्योति फर्काएको थियो ।  अहिले संसारभर रुइतलाई पछ्याउने आँखाका डाक्टर रहेका छन् ।

दमनबहादुर घले, प्रमुख कार्यकारी अधिकृत – नेपाल आँखा अस्पताल 

डाक्टर रामप्रसाद पोखरेलले स्थापना गरेको आँखा अस्पताल अहिले ४६ वर्ष भैसकेको छ । वीर अस्पतालबाट आँखा विभाग छुट्टाएर डाक्टर पोखरेलले काठमाण्डौको त्रिपुरेश्वरमा अस्पताल खोल्नुभएको हो । नेपाली सेनाबाट अवकाशप्राप्त दमनबहादुर घलेले २०६९ साल चैतमा अस्पतालको जिम्मेवारी पाउनुभयो ।

२०१२ साल जेठ ४ गते तनहुँ घलेगाउँमा जन्मेका घलेले नेपाली सेनामा ३७ वर्ष सेवा गर्नुभयो । त्यही अनुभवले उहाँलाई अस्पतालको अवस्था फेर्न सहयोग पुग्यो । जिम्मेवारी बोध र ‘चेन अफ् कमाण्ड’को मूलमन्त्रले नै अस्पतालले गुमाएको शाख, बिग्रे भत्केको भौतिक संरचना र व्यवस्थापन पक्ष बदलिएको उहाँको भनाइ छ । 

सुरुमा १ वर्षका लागि आँखा अस्पतालको नेतृत्व गर्ने गरी जिम्मेवारी लिएका घलेले अस्पतालमा ६ वर्ष बिताइसक्नुभएको छ । अनुभवभन्दा फरक क्षेत्र भए पनि सामाजिक कार्यको नेतृत्वलाई सहज रुपमा लिएको उहाँ बताउनुहुन्छ । ‘व्यवस्थापनका मूल मन्त्र ‘फोर एम’ अर्थात् ‘म्यान’, ‘मनी’, ‘मेसिन’ र ‘मटेरियल’लाई अस्पताल सुधारमा लागू भयो । जनशक्ति, पैसा, तथा आवश्यक सामग्री र उपकरणका लागि दाता गुहारेर काम सुरु भयो । त्यसैको प्रतिफल अहिले अस्पताल फेरिएको छ ।

७ वर्षअघि अस्पतालको जुन हालत थियो, अहिले अस्पताल पुग्ने र देख्ने अचम्मै पर्छन् । कतिपयले त व्यवस्थापन राम्रो गरेको भन्दै भेटेरै हौसला दिने गरेको घले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो सबै अस्पतालको सम्पूर्ण टिम र कर्मचारीको सहयोगमा सम्भव भएको हो ।’ ६ वर्षअघि र त्यसपछिको तुलना गर्दा आकाश जमिन फरक भैसकेको छ । अस्पतालले नयाँ रुप पाएको छ । दिनहुँ बिरामीको भिड थपिँदो छ ।

उहाँ भन्नुहुन्छ ‘सुरुमा समस्याको पहिचान गर्नु थियो, त्यसपछि समाधान खोज्नु–आखिर समाधान निस्कियो ।’ अस्पतालमा नियमित उपचार सहज भैसकेको छ । अस्पताल भवन आकर्षक बनेको छ ।

त्यसका साथै उबेला दिनमा ४/५ वटा मात्र शल्यक्रिया हुने अस्पतालमा अहिले २५/३० वटा हुँदै आएको छ । जनशक्ति र उपकरण बढ्दो छ । आफ्नो कार्यकालमा अहिलेसम्म सोचेअनुसार नै काम गर्न पाएकोमा घले सन्तुष्ट पनि हुनुहुन्छ ।

-उज्यालाेकाे विशेष श्रृङ्खला 'ज्योतिर्गमय नेपाली आँखा' अन्तर्गतकाे याे पहिलाे भाग हाे । यसका बाँकी भाग शुक्रबार र शनिबार प्रकाशित हुनेछन् ।

अन्तिम अपडेट: भदौ १, २०७६

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया