दोहोरो अंकले घट्यो शेयर बजार

 असार २८, २०७५ | रासस

काठमाडौं –  मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । 

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर ४५ करोड ४४ लाख ६ हजार २५६ रुपैयाँमा खरिद बिक्री भएको छ । 

स्टकका अनुसार कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ । बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत् २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले बढेको छ ।
 

तपाईको प्रतिक्रिया