अब पासपोर्ट घरमै राख्छु र स्वदेशमै काम गर्छु‌

 भदौ २६, २०७६ बिहिबार १८:५२:५३ | मेरो कथा मेरो भोगाई

काठमाण्डौ – मेरो नाम त्रिभुवन कुमार यादव । घर सिरहाको अर्नामा गाउँपालिका लक्ष्मीपुर। उमेर २७ वर्ष भयो ।

मसँगैका गाउँका साथीहरुले विदेश गएर राम्रो कमाइ गरेका छन् । कसैले घर बनाएका छन्, कसैले मोटरसाइकल चढेका छन् । यो सबै देख्दा मलाई पनि विदेश गयो भने त घर बनाउन सकिन्थ्यो होला भन्ने लाग्यो । 

त्यही भएर मैले पासपोर्ट बनाएँ । मलेसिया जाने भनेर गएको वैशाखमा म्यानपावरलाई पासपोर्ट पनि बुझाएँ । म्यानपावरले १५ दिनमा विदेश उडाउँछु भनेको थियो । तर उडाएन । त्यसपछि फेरि १५ दिनमा त पक्का उडाउँछु भन्यो । अझै नि उडाएन । 

विदेश गएर काम गर्नेभन्दा बढी टेन्सन त जाँदाखेरी नै हुँदोरहेछ । कहिले काठमाण्डौ जाउ, कहिले अन्तर्वार्ता, कहिले के कहिले के, खाली टेन्सन मात्र । 

मेरो मनैदेखि विदेश जाने रहर त होइन । साथीहरुले त्यहाँ गएर ठिकै कमाइ गरेको देखेर मलाई नि विदेश जाउँ जाउँ लागेको मात्रै हो । उता गएर राम्रो कमाइ हुन्छ नै भन्ने पनि त छैन । कति साथीहरु दुःख पाएर, ठगिएर नेपालमा फर्किनुपरेको पनि त छ नि । 

आखिर जहाँ गए पनि मेहनत गर्ने हो । ३०, ४० हजार रुपैयाँ त आफ्नै बारीमा काम गरेर पनि त कमाउन सकिन्छ नि । त्यसको लागि पासपोर्ट बोकेर विदेशमै जानुपर्छ भन्ने के छ र ?

यतिका दुःख गरी विदेश गएर सुन त टिप्ने होइन नि जस्तो लाग्यो । अनि विदेश जाने सोचलाई दिमागबाट नै हटाइदिएँ । साथीहरुले पनि तँ पढेलखेको छस्, जग्गा पनि छ नेपालमै केही काम गर भनेर सम्झाए । मलाई पनि उनीहरुको कुरा राम्रो लाग्यो । 

म केही नजान्ने पनि होइन । १२ कक्षा पास  गरेको छु । पढेलेखेको पनि छु । नेपालमै खेती गरेर परिवारसँगै बस्नुपर्छ भन्ने बुझेको छु । घरमा म बालबालिकालाई ट्युसन पढाउने काम गर्छु । नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सोचेको छु ।

अहिले मैले ४ कठ्ठा जग्गामा बैगन खेती सुरु गरेको छु । कुखुरापालन पनि गर्ने विचार छ । घरमा बाख्रा पनि पालेको छ, त्यसको रेखदेख नि गर्छु । त्यसैलाई बढाएर धेरै बनाउने हो भने पनि त फाइदा छ नि । परिवारसँगै बस्नुमा रमाइलो हुन्छ । विदेशमा त न कोही आफ्नो न त गाउँघरको जस्तो रमाइलो नै ।

म्यानपावरले अर्को राम्रो देश पठाउँछु भनिरहेको छ । तर मैले जान्न भनिदिएँ । पासपोर्ट पनि फिर्ता मागिसकेँ । अब पासपोर्ट घरमै राख्छु र केही न केही काम गर्छु । नेपालमै  कुखुरापालनबाट राम्रो कमाइ गर्न सकिन्छ भने विदेश किन जाने ?


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया