जहाज होल्डबारे पर्यटन मन्त्री भट्टराईकाे चासो : तत्काल सुधार गर्न निर्देशन

 असोज २, २०७६ बिहिबार २०:७:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुट्नुभएका पर्यटन मन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डीएमई) तथा ‘भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भीओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको थियाे । त्याे प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

विमानस्थलका अनुसार भीओआर र डीएमई उपकरण आज बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । त्यस समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकाशमा होल्ड भएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय  अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।

अन्तिम अपडेट: असोज ६, २०७६

तपाईको प्रतिक्रिया