गैरकानुनी रुपमा ई-सेवामार्फत टिकट बिक्री गरे कारबाही हुने

 असोज ९, २०७६ बिहिबार १४:३५:४४ | रासस
unn.prixa.net

रुपन्देही - ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नम्बर प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ ।

प्रदेश सरकारले ई-सेवामार्फत हवाई टिकट काटेमा तत्काल २० हजार रुपैयाँ जरिबानासहित कारबाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नम्बर ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली त्यससम्बन्धी कार्य गरेमा वा गर्न खोजेमा प्रदेश नम्बर ५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार त्यस्तो एजेन्सी तत्काल बन्द गरी २० हजार जरिबानासमेत गर्ने बताएको छ ।

मन्त्रालयले ट्राभल तथा ट्रेकिङ एजेन्सीको दर्ता र नियमन गर्ने अधिकार प्रदेश सरकारलाई भएको उल्लेख गर्दै प्रदेश नम्बर ५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार कारबाही गर्ने बताएको हो ।

मन्त्रालयले कसैले उक्त सूचनालाई नमानी अटेर गरी ई–सेवामार्फत ट्राभल एजेन्सीले गर्ने हवाई टिकेटिङको काम गरेको पाइएमा सख्त कारबाही गर्नेसमेत बताएको छ । मन्त्रालयले ई–सेवामार्फत टिकेटिङ गर्ने कार्यमा विमान सेवा कम्पनीले पनि सहयोग गरेकाले अब उप्रान्त ई–सेवामार्फत हवाई टिकट काट्ने कार्यमा सहभागी नहुन विमान सेवा कम्पनीलाई समेत आग्रह गरेको छ ।

केही महिनायता ई-सेवाको नाममा अवैध रुपमा ट्राभल तथा ट्रेकिङ एजेन्सीको काम भइरहेको भन्दै ट्राभल तथा ट्रेकिङ व्यवसायीको संस्था नेपाल एसोसियशन अफ् टुर एण्ड ट्राभल्सले सरकार र स्थानीय प्रशासनको बारम्बार ध्यानाकर्षण गराएको थियो ।

नेपाल एसोसियशन अफ् टुर एण्ड ट्राभल्स प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले सरकारले काम गरेर खाने व्यवसायीको पक्षमा निर्देशन जारी गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'सरकारी निर्णयले हामी व्यवसायीलाई राहत मिलेको छ ।'

पर्यटन ऐनअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता गर्दा कम्पनी रजिस्टार कार्यालयमा कम्पनीका रुपमा दर्ता गर्नुपर्ने त्यसका लागि न्यूनतम रु २५ लाख जारी पूँजी राख्नुपर्ने प्रावधान छ । यसैगरी पर्यटन कार्यालयमा पाँच लाख रुपैयाँ बैंक ग्यारेन्टी दिनुपर्दछ । २५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ । त्यसपछि घरेलु, पर्यटन, आन्तरिक राजस्व कार्यालयमा समेत दर्ता गर्ने प्रावधान रहेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया